सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
विहीबार बिहान शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो । सत्ता गठबन्धनका उपेन्द्र यादव भने भेटवार्तामा सहभागी भएनन् ।
स्थानीय तहको निर्वाचन चाँडो तय गर्नुपर्ने चटारो खेपिरहेका प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपालसँग निर्वाचन मिति घोषणा लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गरेको स्रोतले बताएको छ ।
संसदको गतिरोध अन्त्यका लागि गुृहार माग्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हिजो पुगेका प्रधानमन्त्री देउवाले अब कसरी अघि बढ्ने भन्ने विषयमा दुई नेतासँग छलफल गरेका छन् ।
सत्तागठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन् । उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ।
संविधानमा कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन् ।