Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेमा रहेका पूर्वमाओवादी सामूहिक राजीनामा दिने

एमालेमा रहेका पूर्वमाओवादी सामूहिक राजीनामा दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७८ शुक्रवार • १२:३४:१३ बजे
  • 1.5K
    SHARES
  • एमालेमा रहेका पूर्वमाओवादी सामूहिक राजीनामा दिने

    उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ। उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन्।

    images

    अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन्। यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन्।

    एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा स्थायी कमिटीका सदस्य नेतृत्वले आफ्ना कुरा नसुनेको अवस्थामा सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ। उनीहरूसँगै केही केन्द्रीय सदस्य पनि राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ।

    सामूहिक राजीनामा दिने मनस्थितिमा ‘पार्टीमा हामीलाई ठोस जिम्मेवारी दिइएको छैन। दिइएको जिम्मेवारीअनुसार पनि काम गर्न पाएका छैनौं। पदीय मर्यादाक्रमसमेत मिलेको छैन। हामीभन्दा जुनियरलाई माथि राखेर हामीलाई अपमान गरिएको छ।

    पूर्वमाओवादीबाट एमालेमा आएका हामीलाई सोपिसका रूपमा मात्रै राखिएको छ। यसरी हेपिएर बस्नुभन्दा आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने हाम्रो निष्कर्ष हो,’ असन्तुष्टमध्येका एक पदाधिकारीले भने। पदबाट राजीनामा दिने निष्कर्षमा पुगिसकेका उनीहरूले पार्टी भने तत्काल नछोड्ने जनाएका छन्।

    तत्कालका लागि एमालेमै बस्ने तर अहिलेको जिम्मेवारीबाट राजीनामा दिनेमा सबैको एकमत रहेको छ। ‘पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले कोरोना संक्रमित हुनुभएकाले छलफल गर्न पाएका छैनौं।

    पार्टी अध्यक्षसँग आगामी दिनमा हुने छलफलबाट हाम्रो आगामी यात्रा तय हुने छ, माग पूरा नभएको अवस्थामा हामी सबै जना आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिन्छौं,’ असन्तुष्ट ती पदाधिकारीले भने।

    उपाध्यक्षमा निर्वाचित थापा तत्कालीन नेकपाको सचिवालयमा रहेका थिए। तर, तत्कालीन नेकपाको सचिवालयमा नरहेका त्यसबेलाका स्थायी कमिटी सदस्यद्वय ९हाल एमाले उपाध्यक्षद्वय० युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यभन्दा वरीयतामा तल राखिएकोमा थापाको असन्तुष्टि छ।

    उनलाई अहिलेसम्म पार्टीले ठोस जिम्मेवारीसमेत दिएको छैन। थापाले आफूनिकटसँग यो विषयमा पटकपटक छलफल गरेको र राजीनामा दिनु नै राम्रो हुने निष्कर्ष सुनाएको स्रोतको भनाइ छ ।

    थापा यसअघि बाग्मती प्रदेशको इन्चार्ज रहेका थिए। १०औं महाधिवेशनपछि भने उनलाई कूटनीतिक र राष्ट्रिय सुरक्षाको संयोजनको जिम्मेवारी दिइएको छ। सचिव रायमाझीले पनि आफूभन्दा जुनियरलाई माथिल्लो वरीयतामा राखेर आफ्नो अपमान गरिएको गुनासो गर्दै आएका छन्।

    रायमाझीले महाधिवेशनमा उपाध्यक्षको दाबी गरेका थिए। तर, सहमतिको नाममा उनलाई सचिव बनाइएको थियो। आफू स्वबियू सभापति हुँदा विद्यार्थी राजनीतिमा समेत नलागेका केही नेतालाई पदीय मर्यादाक्रममा माथि राखिएकोमा उनको चर्को असन्तुष्टि छ।

    महासचिव शंकर पोखरेलदेखि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल आफूभन्दा पदीय मर्यादाक्रममा माथि रहेकोमा सचिव रायमाझीले अपमानित महसुस गरिरहेका छन्। एमालेमा सचिव रायमाझीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुख तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मेवारी पाएका छन्।

    ‘पहिलापहिला सार्वजनिक कार्यक्रममा समेत अध्यक्ष ओलीले मलाई लाने गर्थे, सम्बोधन गर्न समय पनि दिन्थे तर अहिले कुनै प्रकारको सोधखोज नै छैन। अहिले त मभन्दा कनिष्ठलाई माथि राखेर हदैसम्मको अपमान गरिएको छ,’ सचिव रायमाझीले आफू निकटका नेतासँग गुनासो पोख्ने गरेका छन्।

    यस्तै, अर्का सचिव लेखराज भट्टको समस्या पनि उस्तै छ। सुदूरपश्चिम प्रदेशको इन्चार्ज रहेका भट्टले आफूले जिम्मेवारीअनुसारको काम गर्न नपाएका गुनासो गरिरहेका छन्। हालै सम्पन्न जिल्ला अधिवेशनका क्रममा आफ्नो भनाइ कतै सुनुवाइ नभएको उनको गुनासो रहेको छ।

    ‘सुरुमै सेटिङ गरेर जिल्ला कमिटीको घोषणा गर्छन् । मेरो सल्लाह नै लिँदैनन, मैले दिन खोजे पनि लागू हँुदैन। म त नाम मात्रैको प्रदेश इन्चार्ज भएको छु, यस्तो इन्चार्जको के काम ? पूर्वमाओवादीका कुनै नेतालाई जिल्लाको नेतृत्वमा आउनै दिँदैनन्,’ सचिव भट्टले गुनासो गर्ने गरेका छन्।

    स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साहको समेत यस्तै गुनासो रहेको छ। थापा अहिले एमालेमा भूमि व्यवस्था विभागको प्रमुख र साह प्रदेश २ को सह–इन्चार्जको जिम्मेवारीमा छन्।

    तत्कालीन नेकपाको स्थायी कमिटीमा रहेका मणि थापाले महाधिवेशनको बेला सचिवमा दाबी गरेका थिए। तर, महाधिवेशनबाट सचिवसमेत हुन नसकेका थापा जिम्मेवारी बाँडफाँटमा समेत राम्रो जिम्मेवारी नपाएको गुनासो गर्छन्।

    यस्तै, साहले समेत सचिवको दाबी गर्दै आएका थिए। तर, सचिव बन्ने उनको सपना पूरा हुन सकेन। उनी पछिल्ला दिनमा आफूले राम्रो जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन्।

    मधेस प्रदेशको इन्चार्ज हुनुपर्ने माग उनको भए पनि ओलीले सह–इन्चार्ज बनाए। पोलिटब्युरो सदस्य रहेका अन्य नेतालाई समेत मधेस प्रदेशको सह–इन्चार्ज बनाएर आफ्नो अपमान गरिएको गुनासो साहले आफूनिकटका नेतासँग गर्ने गरेका छन्।

    पछिल्लो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रदेश कमिटीको पदाधिकारी प्रस्ताव गरेका थिए।

    सोही प्रस्ताव बैठकले पारित ग¥यो। तर, प्रदेश पदाधिकारीमा पूर्वमाओवादी समूहका नेतालाई जिम्मेवारी नदिएको र जिल्ला अधिवेशनबाट समेत पूर्वमाओवादी समूहका नेतालाई नेतृत्वमा आउन नदिएको भन्दै उनीहरू अध्यक्ष ओलीबाट असन्तुष्ट छन्।

    राजधानी दैनिकमा समाचार छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology