राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएको छ । आइसिबी–१ र आइसिबी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि अब विमानस्थल परीक्षण उडानको पर्खाइमा छ ।
विमानस्थल बिस्तार परियोजनाका अनुसार आगामी बुद्ध जयन्तीमा परीक्षण उडान गर्ने गरी तयारी भैरहेको छ । परीक्षण उडानका लागि प्राविधिक जनशक्तिलाई तालिम दिन अहिले अष्ट्रियाका प्राविधकिहरू भैरहवा विमानस्थलमै छन् । यस्तै, थाइल्याण्डका प्राविधिकहरूले पनि भैरहवा विमानस्थलमा तालिम दिन थालेका छन् ।
परीक्षण उडान सकिएपछि मात्र प्राविधिकहरू फर्किने विमानस्थल विस्तार परियोजनाले जानकारी दिएको छ । परियोजना प्रमुख प्रवेश अधिकारीका अनुसार आइसिवी–१ र आइसिवी–२ अन्तर्गतका सबै काम सकिएकोले अब परीक्षण उडानका लागि विमानस्थल तयारी अवस्थामा छ । परीक्षण उडानको दिन नै आयोजना हस्तान्तरणको मिति तय गरिने अधिकारीले जानकारी दिए । परीक्षण उडान मिति भने नागरिक उड्डयन प्राधिकरणले तय गनुपर्ने हुन्छ ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी १) मा सम्झौता भएर १ माघ २०७१ देखि निर्माण सुरु गरेको थियो ।
आइसिबी–१ अन्तर्गत तीन हजार मिटर धावनमार्ग, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सक्ने क्षमताको पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, पाँच सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, ट्याक्सी वे लगायतका काम रहेका थिए जुन अहिले सबै सम्पन्न भई सकेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन तहका काम सम्पन्न भएका छन् । पहिलो आइसिबी–१ अन्तर्गत ६ अर्ब ८२ करोडको । दोस्रो अन्र्तराष्ट्रिय आइसिवी–२ अन्तर्गत ५० करोडको काम र तेस्रो २२ अर्ब ४० करोडको मुआब्जा वितरण सम्पन्न भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि ९० करोडको काम भएको छ ।
यसरी आयोजनाको सबै काम जोड्दा ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडीबीको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ । निर्माण सम्पन्न भइसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिले १२औँ तहको महाप्रबन्धक समेत पाएको छ । महाप्रबन्धकको रुपमा गोविन्दप्रसाद दाहाल भैरहवा विमानस्थल आइपुगेका छन् ।
विमानस्थल सञ्चालनको अन्तिम तयारीमा रहेको महाप्रबन्धक दाहालले बताए । थाइल्याण्डबाट एरो थाइका प्राविधिकहरू अध्ययनका लागि आएको र उनीहरूको रिपोर्टपछि करिब एक महिनामा परीक्षण उडान हुनसक्ने दाहालको भनाइ छ । गौतमबुद्ध विमानस्थलमा हाल ३४ जनाको दरबन्दी छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार भैसकेपछि अब विमानस्थलमा १५१ जना कर्मचारीको दरबन्दी हुने उनले जानकारी दिए । यसबाहेक सेवा प्रदायकले आपूर्ति गर्ने १०३ जना, प्रहरी १६७ जना, मेट्रोलोजिष्ट १७ देखि २० जना, अध्यागमन, भन्सार, क्वारेन्टिनलगायतका कर्मचारीको अवश्यकता हुन्छ ।
अध्यागमन, भन्सार, क्वारेन्टिन र सुरक्षाबाहेक विमानस्थल सञ्चालनका लागि अहिले करिब २० जना थपिए अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य हुने दहालले बताए ।