नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने बताएका छन्।
आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले छलफल गरेको र गठबन्धन दिगो रूपमा जाने उनले बताए।
‘हामीले पाँच दलीय गठबन्धन निर्माण गरेका छौं। दिनदिनै पत्रपत्रिकामा अनेक समाचार पढेर कतिपयको दिमाग खराब हुने गरेको छ।
दिमाग खराब गर्ने काम नगर्नुस्,’ बालुवाटारमा छलफल गरेर अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा पुगेका अध्यक्ष नेपालले भने, ‘यो गठबन्धन टुट्नेवाला छैन। कसैले टुटाउन खोजे पनि यो टुट्नेवाला छैन।
अहिले भर्खरै मात्र पनि हामीले प्रधानमन्त्री शेरबहादुर देउवाजी र माओवादी अध्यक्ष प्रचण्डजी र म आफैँ बसेर छलफल गर्यौं। पत्रपत्रिकामा आएका समाचारबारे पनि सत्यतथ्य के हो भनेर छलफल चलायौं तर मनगढन्ते कुरा धेरै आएका रहेछन्।
’ उनले गठबन्धन भत्कनेजस्ता समाचारमा सत्यता नभएको दाबी गरेका थिए। ‘यो गठबन्धनलाई बलियो बनाएर लैजानुपर्दछ भन्ने कुरा हामी सबैले प्रतिवद्धता व्यक्त गरेका छौं,’ उनले भने, ‘जनताको हितलाई केन्द्रमा राख्ने नीति हामीले लिएका छौं।’
उनले संविधान जोगाएको र लोकतन्त्र आफूहरूले बचाएको बताएका थिए। उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण प्रतिनिधि सभा चल्न नसकेको बताए। उनले पार्टी संगठन देशव्यापी रूपमा फैलाउने अभियान चलिरहेको पनि बताएका थिए।