सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ । बिहीबार अर्थमन्त्री जनार्दन शर्माले अर्धवार्षिक समीक्षामार्फत चालु आर्थिक वर्ष २०७८÷७९को बजेटको आकार घटाइएको जानकारी दिएका हुन् ।
चालु वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुने छ ।
यसमा स्थानीय तहको निर्वाचन, कोरोना खोप खरिदलगायतका हुने खर्च समावेश गरिएको मन्त्रालयले जनाएको छ । सरकारले सुरुको विनियोजनबाट खर्च नहुने अनुमान गरिएको रकम घटाउन बजेट संशोधन गरेको हो ।
अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ ।
अर्थमन्त्री शर्माले मुलुकका आर्थिक वृद्धिदरमा पनि सकारात्मक असर पर्ने र मुद्रास्थिति नियन्त्रणमा रहेको बताए । त्यस्तै, उनले ९५.५ प्रतिशतले निर्यात बढेको र आयात ५१.१ प्रतिशतले बढेको जानकारी दिए ।
विप्रेषण आप्रवाह नेपाली मुद्रामा ५ दशमल ५ प्रतिशतले कमी आएको र सोधान्तर घाटा २ खर्ब ४१ अर्ब २३ करोड रहेको मन्त्री शर्माले बताए । मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको जानकारी दिए । अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन भइरहेको उनले बताए ।
अर्थमन्त्री शर्माले स्रोत सुनिश्चितता नहुँदा बजेटको आकार घटाउनु परेको तर्क गरे । त्यस्तै, उनले हचुवाका भरमा आयोजनाहरुको छनौट गर्दा पनि पुँजीगत खर्चको समस्या भएको जिकिर गरे ।
मन्त्री शर्माले वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप कम गर्न विभिन्न नीतिगत उपाय अबलम्बन गरिएको पनि बताए ।