नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७९ वैशाख ३० गतेबाट सर्वोच्च न्यायाधीस जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात हुने बताएका छन् ।
शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले जनताको मतबाट देशभत्तिको खोल ओडेका तत्वलाई पराजित गर्ने दाबी समेत गरे ।
सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेपछि अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । ‘यस निर्वाचनको असाधारण महत्व छ ।
यसले ठूलो राजनीतिक फैसलाको प्रारम्भ गर्नेछ,’ ओलीले भने, ‘अब जनादेश र परमादेशबीच सार्वभौमसत्ता सम्पन्न जनता र त्यो जनमतलाई उपहास गरेर, पार्टी फोरेर, सरकार ढालेर, प्रतिक्रियावादीको सेवामा समर्पित हुन जाने, प्रगतिशिलता, बामपन्थता, देशभत्तिको खोल ओडेका तत्वहरु र तीनका मतियारहरुलई सार्वभौमसत्ता सम्पन्न जनताको पवित्र अभिमतबाट अर्थात जनमतको माध्यमबाट पराजित गर्ने र सर्वोच्च न्यायाधीस जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात वैशाख ३० को निर्वाचनबाट हुनेछ ।’
राष्ट्रिय राजनीतिलाई सकारात्मक रुपमा अघि बढाउने कुराको थालनी स्थानीय निर्वाचनबाट हुने उनले बताए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु प्रतिनिधिसभामा सहभागी हुन चाहेको भए पनि सरकारले त्यो अवसर नदिएको बताएका छन् ।
संसद् निष्प्रभावी भएको तर निर्वाचन गर्न नखोजिएको उनले बताए । “सभामुख हाम्रो पार्टी फुटाउने अभियानमा लाग्छन् । हाम्राविरुद्ध मुद्दा लड्न अदालत पुग्छन् । यस्तो अवस्थामा संसद् निरर्थक भइरहेको छ । निर्वाचन हुन नदिने, संसद् चल्न नदिने काम भएको छ,” उनले भने, “निष्प्रभावी बनाएर संसद्लाई भेन्टिलेटरमा राखिएको छ । ज्युँदै छैन भनम् भने संसद् छ तर ताजा जनादेश लिने भन्दा प्रतिगमन भन्छन् ।”
‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण तलिम’ कार्यक्रमको शुक्रबार उद्घाटन गर्ने क्रममा बोल्दै ओलीले एमालेलाई जनतामा विश्वास रहेको दाबी गरे । आफ्नै पार्टीको सरकार गिराउन र पार्टी फुटाउन सहभागी हुनेहरुसँग कुनै तालमेल नहुनेसमेत उनले बताए ।
“साउन २५ गते हामीले निष्कासन गरेका मानिसहरुलाई कारबाही गरेको सूचना टाँस नगरेर षड्यन्त्रपूर्वक जसरी पार्टी फुटाइयो, देशविरोधी तत्वहरुसँग न चुनावी तालमेल हुन्छ न पार्टी एकीकरण । तपाईंहरु भ्रममा नपर्नुहोला,” उनले भने । उनले त्यस्ता तत्वहरुलाई पार्टीमा कुनै इन्ट्री नै नहुने समेत बताए ।
उनले सरकारले राष्ट्रिय हितमा काम गर्न नसकेको समेत बताए । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको तर्क गर्दै ओलीले राजनीतिक अवस्थाप्रति सरकार गैरजिम्मेवार बनेको समेत बताए ।