नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले अमेरिकन सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई संसदमा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भुमिका प्रति आक्रोश ब्यक्त गरेका छन् ।
शुक्रबारको कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसी पारित गर्नका लागि सर्वसम्मत निर्णय गरेको तथा एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुनार र अमेरिकी बिदेश सहयाक मन्त्री डोनाल्डले दबाब दिएको बिषयमा मौन बसेको भन्दै एमाले र माओवादी केन्द्रसँग आक्रोशित भएका हुन् ।
आगामी १६ फागुन भित्र संशोधन बिना नै एमसीसी पारित गर्नका लागि उपाध्यक्ष सुनार र सहायक विदेशमन्त्री लुले सार्वजनिक रुपमा दबाब बढाएपछि महासचिव वैद्यले त्यसको बिरोधमा डटेर सामना गर्नुपर्नेमा पनि जोड गरेका छन् ।
‘अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका साथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छौँ भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेकाका नेता प्रकाशशरण महतले अमेरिकी साम्राज्यवादको तावेदारी गरेका छन्,’ वैद्यले आक्रोश ब्यक्त गर्दै भनेका छन, ‘एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएका छन्, यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो ।’
वैद्यका अनुसार सुनारले एमसीसी परियोजना संशोधन नहुने तथा १६ फागुनभित्र पारित गर्नै पर्नेभन्दा पछिल्लो समयमा अमेरिकाले दबाब बढाउनु स्वतन्त्र र सार्वभौम मुलुकमाथि हस्तक्षेपसमेत हो । क्रान्तिकारी माओवादीले अमेरिकी साम्राज्यवादको सो प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भत्र्सना र घोर विरोध गरेको वैद्यले जनाएका छन ।
देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा मडारिइरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन महासचिव बैद्यले प्रेस बिज्ञप्तिमार्फत आह्वानसमेत गरेका छन् ।
एमसीसीविरुद्ध आन्दोलनमा उत्रन मोहन वैद्यको आग्रह
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव किरणले एमसीसीविरुद्ध आन्दोलन अघि बढाउनसमेत आग्रह गरेका छन् ।
“हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भत्र्सना र घोर विरोध गर्दछ,” उनले विज्ञप्तिमा भनेका छन्,“साथै, देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा मडारिरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज वुलन्द गर्नुका साथै संघर्ष अगाडि बढाउन हामी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी पार्टी, समुदाय र व्यक्तित्वहरुमा हार्दिक अपिल गर्दछौँ ।”