पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का ४९ वर्षका नेता तथा सांसद आमिर लियाकत हुसैन आजकाल खुब चर्चामा आएका छन् । लियाकत हुसैनले ट्वीटरमा आफूले १८ वर्षकी सैयदा दानियासँग विवाह गरेको र यो उनको तेस्रो विवाह हो भनेर जानकारी दिएका थिए ।
यी दुईबीच करिब ३१ वर्षको अन्तर छ । लियाकत हुसैनको ट्वीटको ठिक एक दिन अघि उनकी दोस्री श्रीमती सैयदा तुबा अनवरले एक इन्स्टाग्राम पोस्टमा सम्बन्धविच्छेदबारे जानकारी दिएकी थिइन् ।
उनले लेखेकी थिइन्, ‘भारी मनले, म आफ्नो जीवनमा भएको परिवर्तन बारे जानकारी दिन चाहन्छु । मेरा परिवार र नजिकका साथीलाई थाहा छ कि १४ महिना अलग बसेपछि यो स्पष्ट भइसकेको थियो कि अब मिलापको कुनै आशा नै छैन र मैले अदालतबाट सम्बन्धविच्छेदको विकल्प छान्नुपर्यो ।
’ तुबा अनवरले यसै पोस्टमा लेखेकी छिन्, ‘म भन्न सक्दिनँ कि यो कति मुश्किल रह्यो तर म भगवानलाई विश्वा गर्छु । म सबैलाई अपिल गर्छु कि मुश्किलले भरिएको यो समयमा मेरो निर्णयको सम्मान गरियोस् ।’ व्यावसायिक रुपमा टिभीकी प्रस्तोता, २८ वर्षकी तुबा अनवर र लियाकत हुसैनले सन् २०१८ मा विवाह गरेकी थिइन् ।
त्यतिबेला लियाकत हुसैनकी जेठी श्रीमतीले उनले फोनमा सम्बन्धविच्छेद दिएको बताएकी थिइन् । लियाकत हुसैनकी जेठी श्रीमती सैयदा बुशरा इकबालले त्यतिबेला इन्स्टाग्राम पोस्टमार्फत् उनका श्रीमानले दोस्री श्रीमतीको अगाडि फोनमा उनीसँग सम्बन्धविच्छेद गरेको बताएकी थिइन् ।
लियाकतले तुबाको निर्देशनमा यस्तो गरेको आरोप लगाएकी थिइन् । १० फेब्रुअरीमा नै आमिर लियाकत हुसैनले आफ्नी तेस्री श्रीमतीबारे जानकारी दिए । लियाकत हुसैनले उनले दक्षिण पंजाबको लोधरानमा बस्ने सआदत परिवारकी सैयदा दानिया शाहसँग विवाह गरेको जानकारी दिँदै उनको उमेर १८ वर्ष भएकोसमेत बताए ।
लियाकतले आफ्ना शुभचिन्तकसँग आशीर्वादको अपिल गरेका छन् । श्रीमान् श्रीमतीबीचको उमेर अन्तर ३१ वर्षको हुनु असामान्य हो ।
पाकिस्तानको कानूनले १८ वर्षको उमेरमा विवाहको अनुमति दिन्छ । तर हुसैनको विवाहले पाकिस्तानमा के कम उमेरमा बेहुलीलाई प्राथमिकता दिइन्छ ? र यो मुलुकमा यी सबै कुरा सामान्य हुन् भनेर प्रश्न निम्त्याएको छ । पाकिस्तानकी एक ट्वीटर प्रयोगकर्ता सोहनीले लियाकत हुसैनको विवाहबारे लेख्छिन्, ‘हरेक वैध चिज सधैँ सही हुँदैनन् ।
के ५० वर्षका व्यक्तिले १८ वर्षकी किशोरीसँग विवाह गर्नु वैध हो ? हो, तर दुलहाको उमेरसँग तुलना गर्ने हो भने के उनी अहिले पनि बच्ची नै होइनन् ? हो, जब उनी जन्मिएकी थिइन् तब दुलहा ३२ वर्षका थिए । ’
सोहनीले अर्को एउटा ट्वीटम लेखिन्, ‘जब तपाईं आफूभन्दा निकै सानी वा किशोरावस्थामा भएकीससँग विवाह गर्नुहुन्छ भने तपाईं एक गलत शक्ति सन्तुलन बनाउनुहुन्छ ।
तपाईंको व्यक्तित्व र जीवन पूर्ण रुपमा बनिसकेको छ । तर एक १८ वर्षका किशोर वा किशोरीको हुँदैन । तपाईंले उनलाई आफूले चाहेको जस्तो बनाउन सक्नुहुन्छ त्यसैले धनाढ्य व्यक्तिहरु यस्तै गर्छन् । ’ यो विवाहलाई आलोचना गर्ने सोहनी एक्ली होइनन् ।
फलक नामकी एक अन्य प्रयोगकर्ता लेख्छिन्, ‘धेरैजसो उमेरदार पुरुष युवतीलाई आफ्नो इशारामा चलाउनका लागि उनीहरुसँग सम्बन्ध स्थापित गर्छन् र उनीहरु नाबालिग हुन् भनेर जायज ठहर गरिन्छ । के उनीहरु सोच्दैनन् कि जब उनीहरु २५ वर्षका थिए तब उनी १० वर्षकी मात्रै हुन्छिन् ।
’ महिन गनी लेख्छिन्, ‘दुर्भाग्यले अधिकांश पाकिस्तानी पुरुष आमिर लियाकत जस्तै छन् । आफ्नी श्रीमती र बच्चालाई छोडेर एक बालिकाजस्तो दुलही खोज्छन् ताकि समाजमा दबदबा बनाउन सकियोस् ।
यो विषालु चलन जारी छ र पूर्ण रुपमा स्वीकार्य पनि ।’ केही ट्वीट प्रयोगकर्ताले दुईबीचको उमेरको भिन्नताबारे मीम पनि सेयर गरेका छन् । यद्यपि, आलोचनाका बीच थुप्रै प्रयोगले हरेक पाकिस्तानी पुरुष आमिर लियाकतजस्ता छैनन् पनि भनिरहेका छन् । बीबीसी