Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौं–रक्सौल रेलमार्गः फाइनल लोकेसन सर्भे सुरु

काठमाडौं–रक्सौल रेलमार्गः फाइनल लोकेसन सर्भे सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • ०८:३७:३५ बजे
  • 1.7K
    SHARES
  • काठमाडौं–रक्सौल रेलमार्गः फाइनल लोकेसन सर्भे सुरु

    प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा सर्भेको काम सुरु भएको हो ।

    images

    रेल विभागका प्रवक्ता अमन चित्रकारले भारत सरकारले नेपालमा लोकेसन सर्भेका लागि प्राविधिक टोली पठाएसँगै सर्भे सुरु भएको जानकारी दिएका छन् । यसअघि गत भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा दुई देशबीच हस्ताक्षर भएको थियो ।

    सम्झौताअनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गर्नेछ । त्यसका लागि भारतको कोनकन रेल्वेज कर्पोरेसनले काम गर्ने तय भएको छ । रेल विभागले रेलमार्ग अध्ययनका लागि भारतीय टोली फिल्डमा परिचालित भइसकेको जनाएको छ ।

    टोलीले सर्भेका लागि चाहिने यन्त्र, उपकरण र गाडी भन्सार छुटमा नेपाल भित्र्याएर अध्ययन गर्नेछ । सरकारले यो अध्ययन १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

    प्रस्तावित यस रेलमार्गको यसअघि नै प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षण भइसकेको छ । भारतीय पक्षले सन् २०१८ मा प्रारम्भिक (प्रिलिमनरी इन्जिनियरिङ एन्ड ट्राफिक सर्भे) अध्ययन सकाएको थियो ।

    भारतीय कम्पनी केआरसीएलले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुनेछ । यो रेलमार्ग निजगढ हुँदै खोकनासम्म बनाउन प्रस्ताव गरिएको छ ।

    प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहनेछ भने साना–ठूला गरी करिब ३५ वटा पुल बनाउनुपर्ने उल्लेख गरिएको छ ।

    नेपाल सरकारले देशभर बन्ने रेल्वे लाइन स्टान्डर्ड गेजमा बनाउने नीति लिएको छ । भारतले यो रेलमार्ग पनि ब्रोडगेज प्रविधिमै बनाउने गरी अध्ययन गर्ने जनाइएको छ ।

    नेपालले आन्तरिक रूपमा बनाउने तयारी गरेको पूर्व–पश्चिम रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाउने सरकारी योजना छ । तर, पूर्व–पश्चिम रेलमार्ग निर्माणले भने गति लिन सकेको छैन ।

    समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology