नेकपा एमालेका ५ सांसदले खाली कागजमा सही गर्न मानेनन् ।
आवश्यकताअनुसार पार्टी नेतृत्वले प्रयोग गर्ने गरी संसदीय दलको बैठकमै खाली कागजमा सही गराउँदै गर्दा ती पाँच सांसदले खाली कागजमा सही गर्न नमानेका हुन् ।
बैठकमा सहभागी भई भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गरेनन् ।
संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा ६ वटा खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो ।
हस्ताक्षर नगर्ने विषयमा भीम रावलले लिखित रूपमा नै असहमति जनाए ।
अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न मानेनन् । प्रयोजन नखुलाएकाले आफूले हस्ताक्षर नगरेको झपट रावलले बताएका छन् ।