नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। माघ २७ गते शुरु भएको बैठक २८ र पुस १ गते पनि बसेको थियो। बैठकले तय गरेको एजेन्डाबाहेक समसामयिक राजनीतिक घटनाक्रममा समेत छलफल केन्द्रित हुँदा बैठक लम्बिएको छ ।
समग्र राजनीतिक अवस्थाको समीक्षा गर्दा बैठक लम्बिएको महामन्त्री विश्वप्रकाश शर्माले बताए। उनले भने, ‘‘कार्यसम्पादन समितिमा पेस भएका एजेन्डाका साथै राष्ट्रिय राजनीतिक मुद्दाहरूमा सबै सदस्यहरूले धारणा राखेकाले लम्बिएको हो।’’
३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले बैठकमा धारणा राखिसकेका छन्। प्रवक्ता प्रकाशसरण महतका अनुसार, चौथो दिन आज बाँकी सदस्यहरूले धारणा राख्ने र बैठकका एजेन्डाहरूबारे निर्णय हुनेछ ।
गत माघ १४ गते कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। समितिमा सभापतिसहित १३ पदाधिकारी स्वतः रहने ब्यवस्था छ । बाँकी सदस्य केन्द्रीय समितिको बैठकले मनोनीत गर्ने व्यवस्था छ ।
जसअनुसार, १४ गते बाँकी २४ सदस्य मनोनित गरिएको थियाो । कार्यसम्पादन समितिले पूर्णता पाएपछि माघ २२ गते यो बैठकको मिति तय भयो। जसअनुसार, माघ २७ गते पहिलो केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको हो। बैठकको एउटा मुख्य एजेन्डा भातृ तथा शुभेच्छुक संस्थाहरूको विधान र नेतृत्वकाो विषय रहेको छ। दोस्रोमा चौधौँ महाधिवेशन अघि रोकिएका जिल्ला अधिवेशन सम्पन्न गर्ने विषय रहेको छ ।
यसबारे बैठकले फागुन १३ गते गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनअघि विवादका कारण विभिन्न १६ जिल्ला अधिवेशन रोकिएका छन । २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु हुँदा यिनै दुई एजेन्डा तय गरिएको थियो। तेस्रो एजेन्डा विविध राखिएको थियो। तर बैठक सञ्चालन भएपछि सबै नेताहरूले विभिन्न विषयमा धारणा राख्न थालेपछि एजेन्डा पनि थपिएका छन ।
अर्थात बैठक तय गरिएको एजेन्डामा मात्रै सीमित रहेन। समसामयिक राजनीति खासगरी अमेरिकी विकास परियोजना एमसीसी र स्थानीय निकाय निर्वाचनका बारेमा पनि छलफल केन्द्रित हुन पुग्यो । कार्यसम्पादन समितिका सदस्य आनन्दप्रसाद ढुुंगानाका अनुसार, बैठकमा एमसीसीमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षीको भूमिकाका विषयमा छलफल भएको छ। स्थानीय तह निर्वाचनबारे पनि बहस भएको छ।
‘‘मूलतः एमसीसीका विषयमा पार्टी एक ठाउँमा उभिनेबारे कार्यसम्पादन समितिको बैठक महत्त्वपूर्ण भएको छ’’, उनले भने, ‘ ‘एमसीसी, चुनाव आदि विषयमा के कसरी अघि बढ्ने विषयमा सहभागी सदस्यहरूले धारणा राखे र चौथो दिन पनि राख्नेछन्। बैठक लम्बिए पनि उपलब्धिमूलक हुनेछ।’’
कार्यसम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धनका हैसियतभन्दा पनि एक्लै प्रतिस्पर्धा गर्नुपर्ने धारणा पनि बैठकमा आएको छ।
यसमा दुई थरी धारणा आएको छ। एकथरि स्थानीय र संघकै चुनावसम्म गठबन्धन कायम राखेर जानुपर्ने धारणा छ भने अर्कोसरि एक्लै अघि बढ्नुपर्ने धारणा पनि आएको छ। बैठकले स्थानीय तह निर्वाचन मूल तयारी समिति, घोषणापत्र मस्यौदा समिति गठन गर्ने, निर्वाचन केन्द्रित देशव्यापी कार्यक्रम तय गर्ने तयारी गरेको छ। सत्तारुढ गठबन्धनको नेतृत्व गरेको कांग्रेस लगायत माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले प्रधानन्यायाधीश विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन्। आजको बैठकमा यी विषयहरुमा पनि छलफल हुने कांग्रेस नेताहरुले बताएका छन ।