Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान

आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७८ शुक्रवार • ०९:१९:३६ बजे
  • 574
    SHARES
  • आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलमा क्यालिब्रेसन उडान

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु हुने भएको छ । एरो थाईको जहाज बिहीबार नेपाल आएपछि आजदेखि क्यालिब्रेसन उडान हुने निश्चित भएको हो ।

    images

    थाइल्याण्डबाट हिजो दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एरो थाईको ‘एचएस–एआइएम’ जहाज हिजै भैरहवा विमानस्थल पुगिसकेको नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिए । क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उनको भनाइ छ ।

    परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ । क्यालिब्रेसन उडान आजदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक सात घण्टाको उडान हुनेछ । उक्त अवधिमा विमानस्थलमा हाल सञ्चालन भइरहेको उडान केही डिले हुने प्राधिकरणले यसअघि नै वायुसेवा कम्पनीलाई अवगत गराइसकेको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते अर्थात बुद्ध पूर्णिमाको दिनदेखि भने व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गरिएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताए ।

    उनले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि सामरिक महत्वको परियोजना भएको बताए । कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन ।

    काठमाडौँ विमानस्थलको विकल्पका रूपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अहिलेको अवस्थामा करिब २० लाख मात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ । कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुने थियो । कोभिडका कारण आयोजना निर्माणको प्राविधिक काममा ढिलाइ भएको हो ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्न सफल नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरुद्ध भएको थियो ।

    विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको छ ।

    अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताए । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घट्ने विश्वास लिइएको छ ।

  • सम्बन्धित विषय:

  • # क्यालिब्रेसन उडान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology