Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चुनाव सम्पन्न गर्ने सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

चुनाव सम्पन्न गर्ने सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७८ शनिवार • १३:११:२५ बजे
  • 949
    SHARES
  • चुनाव सम्पन्न गर्ने सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा संघीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन् ।

    images

    ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिएका हुन् ।

    उनले विसं २००७ मा प्रजातन्त्र प्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति हो भन्दै यसैको जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भइ आज लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको स्मरण गराए ।

    प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासन अन्त्य भइ जनताको हकअधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्नका लागि २००७ मा आजकै दिन प्रजातन्त्रको घोषणा भएका उल्लेख गर्दै आजका दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरुको मौलिक हकअधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रुपमा इतिहासमा स्मरणीय भएको उल्लेख गरे ।

    “वास्तवमै हामी आज स्वतन्त्र देशका रुपमा सम्मानित र सार्वभौम नागरिक भएका छौँ । राजनीतिकरुपमा मुलुकले ठुलो फड्को मारेको छ । यसका लागि विसं २००७ को राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२/६३ सालको जनआन्दोलनसम्मको ठुलो भूमिका रहेको छ,” उनले भने,“आज हामी जेजस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, जुनस्तरको नागरिक हकअधिकारको उपभोग गर्न पाउने स्थितिमा छौँ ।

    राज्यको सबै तह र संरचनामा आमनागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ यो सबै सात सालको क्रान्तिको जगमा उभिएर भएको हो ।”

    उनले सात सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको र यसलाई अब हामी सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको बताए ।

    समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

    कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै ‘यो नेपाली शीर उचाली…’ सहित देशप्रेमले भरिपूर्ण कालजयी राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको हो ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology