अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा पाँचवटा धारणा देखा परेका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धनमा एमसीसी बिना सर्त पारित गर्ने, एमसीसी टेबुल गर्न दिने तर संसोधन बिना अनुमोदन नगर्ने, एमसीसी टेबुल गरिए सरकारवाट बाहिरिनेलगायतका धारणा निमार्ण भएका छन ।
यसैगरी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले जे निर्णय लिए, त्यसै अनुसार निर्णयमा पुग्ने र एमसीसीका बिषयमा चरणबद्ध आन्दोलनलाई निरन्तरता राख्नेसहित पाँचवटा धारणा देखा परेका हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस बिना सर्त एमसीसी संसदमा टेबुल गरेर अनुमोदन गराउने पक्षमा उभिएको छ । गत साता सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार सरकारको नेतृत्वकर्ता कांग्रेस १६ फागुन भित्र एमसीसी अनुमोदन गराउने पक्षमा स्पष्ट देखिएको छ ।
‘गठबन्धन टुटे टुटोस तर एमसीसी पारित गराउने पक्षमा कांग्रेस छ,’ गठबन्धन बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले पार्टी धारणा सार्वजनिक गर्दै आएका छन । त्यसका लागि सत्तारुढ गठबन्धनसँग यसअघि दुईपटक घनिभुत छलफल गरेको कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि सहयोगको आग्रह गरेको अवस्थामा पुनः आज पाँच दलीय गठबन्धनको बैठक आब्हान गरेको छ । यसअघि एमसीसीका बारेमा ‘हार्डलाइनर’ को रुपमा देखा परेको नेकपा (एस) शनिवारको स्थायी कमिटी बैठक पछि भने केही हदमा लचिलो भएको छ ।
नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमसीसीलाई संघीय संसदमा बिना अबरोध टेबुल गर्न दिने तर संसोधन बिना अनुमोदन भने नगराउने पक्षमा स्थायी कमिटीले निर्णय लिएको जानकारी गराईसकेका छन । ‘एमसीसीलाई संसदीय प्रक्रिया अघि बढाउन टेबुल गर्न दिने पक्षमा नेकपा एसले निर्णय गरेको छ,’ प्रवक्ता खतिवडाले भने, ‘तर, बिना संसोधन एमसीसी अनुमोदन गराउने पक्षमा पार्टी भने रहेको छैन ।
उनका अनुसार सम्झौताको संसोधन भएपछि मात्रै एमसिसी अनुमोदन हुने नेकपा (एस) को बटमलाइन कायमै छ । नेकपा माओवादी केन्द्रले एमसीसीलाई ‘जर्वजस्ती’ टेबुल गरिएमा सरकारवाट बाहिरिने चेतावनी दिईसकेको छ । गत साता सम्पन्न माओवादी संसदीय दलको बैठकले गरेको निर्णय प्रधानमन्त्री देउवालाई अध्यक्ष प्रचण्डले जानकारीसमेत गराईसकेका छन् ।
‘एमसीसी टेबुल गरिए माओवादी गठबन्धन सरकारवाट बाहिरिन्छ, यो हामीलाई मान्य हुन्न्,’ प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीको औपचारिक निर्णय यसअघि नै सुनाई सकेका छन । जुन निर्णयवाट माओवादी पछि हटेको अझैसम्म सार्वजनिक भएको छैन्, यद्धपी प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा भने आज सहभागी हुदैँछ ।
उता, तराई मधेस केन्द्रित जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भने माओवादी केन्द्र र नेकपा (एस) ले गर्ने निर्णयका आधारमा एमसीसीका पक्ष वा बिपक्षमा उभिने निष्कर्षसहित गठबन्धनको बैठकमा सहभागी भईरहेको छ । ‘माओवादी र नेकपा (एस) ले जे निर्णयमा पुग्छन, हामी त्यसै आधारमा निर्णय लिनेछौ,’ जसपाका नेता मोहम्मद इस्तियाक राइले टिप्पणी गरे, ‘हामी अझै पनि गठबन्धनमा एकमत होस भन्नेमा प्रतिक्षारत छौं ।
माओवादी र नेकपा (एस) को निर्णय अनुसार पार्टी निर्णय हुने भन्दै जसपा नेपालले जस÷अपजसको भारी गठबन्धन सँगसँगै बोक्ने निष्कर्षसहित धारणा सार्वजनिक गरिरहेको छ । उता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा भने गठबन्धन छाडेर एमसीसीको बिरोधमा सडक आन्दोलनमा होम्मिएको छ ।
‘खसी देखाएर फर्सी खुवाउन लागेको’ भन्दै असन्तुष्ट जनमोर्चा मोहन बैद्य, नेत्रविक्रम चन्दलगायत ६ साना बामपन्थी दलसँग मिलेर सडक आन्दोलनमा होम्मिएको छ । साना बामपन्थी दलसँग कार्यगत एकता गरेर सडक आन्दोलनमा होम्मिएको जनमोर्चा गठबन्धनका पछिल्ला बैठकहरुमा अनुपस्थित हुँदै आएको छ ।
प्रधानमन्त्री देउवाले आज १० बजेका लागि बोलाईएको बैठक पछि एमसीसीका कारण गठबन्धनको भविश्य के हुने ? भन्ने सम्मका टिकाटिप्पणीका राजनीतिक बिश्लेषकहरुले गरिरहेका छन ।