अन्ततः संसदमा एमसीसी टेवल गर्न सत्ता गठबन्धनमा सहमति जुटेको छ ।
बालुवाटारमा आज बिहान भएको गठबन्धनको बैठकमा एमसीसी संसदमा टेवल गर्ने सहमति भएको हो ।
एमसीसी टेवल गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । अध्यक्ष नेपालले भने, ‘एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेको छ ।
त्यसलाई सदनमा पेस गर्ने सहमति जुटेको छ ।’ उनका अनुसार, एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ ।
आजै एमसीसी संसदमा टेवल हुन्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा आजै टेवल हुने जानकारी दिएका छन् ।
सत्ता गठबन्धन बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री कार्कीले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई टेकेर संसदमा एमसीसी टेवल गर्ने निर्णय गरिएको बताए ।
सडकमा नभएर संसदमा एमसीसीबारे छलफल गर्नका लागि उनले सबैमा आव्हान गरे ।
प्रतिपक्षी दल नेकपा एमाले पनि छलफलमा सहभागी हुने विश्वास उनको थियो ।