नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ। भोलि बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा सरकार जुटिरहेको बेला काँग्रेस नेतासमेत रहेका मन्त्री खाँण प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेका हुन्।
भेटमा गृहमन्त्री खाँणले प्रचण्डलाई सत्ता गठबन्धन जोगाउन र सरकारले टेबल गरेको एजेण्डामा साथ दिन आग्रह गरे। उनले जनतामाथि परेको भ्रम निवारण सबै मिलेर गर्नुपर्ने र एमसीसीलाई पास गर्नुपर्ने बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गर्ने प्रयासमा हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।
‘सायद त्यही छलफलबारे प्रचण्डलाई जानकारी गराउन प्रधानमन्त्रीले गृहमन्त्रीलाई पठाएको हुनुपर्छ,’ स्रोतले भन्यो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आएका छन्। काँग्रेसका नेताहरू गठबन्धन दलका नेताले विपक्षीमा भोट हाले गठबन्धन टुट्ने बताउँदै आएका छन्।
बिहीबार संसद् बैठक बस्ने भएकाले काँग्रेस नेताहरूले दौडधुप बढाएका हुन्। खुमलटारमा प्रचण्डसँग भेटेर ओली भेट्न बालकोट गृहमन्त्री बालकृष्ण खाण बालकोट पुगेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाण ओली निवास बालकोट गएका हुन् ।
भेटमा सत्ता गठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ । त्यस्तै, ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दे एमसीसी विरोधी प्रदर्शनकारीले ढुंगा हानेको विषयमा पनि कुराकानी हुने बताइएको छ ।
ओलीले आफू लक्षित गर्दै ढुंगा प्रहार भएपछि गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीबीच मंगलबार भेटवार्ता भएको थियो । ओलीले देउवासँग झन्डै २ घन्टा कुराकानी गरेका थिए । तर, छलफलको प्रमुख विषय एमसीसीका सन्दर्भमा कुनै स्पष्ट जबाफ दिएनन् ।
एमाले नेता विष्णु रिजालका अनुसार गठबन्धनबाट आफ्नो सरकारलाई सहयोग नमिलेकाले एमसीसी अनुमोदन गराउन एमालेले सघाउनुपर्ने देउवाको आग्रह थियो ।
एमाले अध्यक्ष ओलीले भने पहिले आफूहरुको माग पूरा हुनुपर्ने अडान कायम राखेका छन् । एमाले विभाजन गरी बनेको नेकपा (एकीकृत समाजवादी)का १४ जना सांसद्लाई कारबाही हुनुपर्ने माग ओलीले पुनः स्मरण गराए । जुन माग अगाडि सारेर एमालेले सदन अबरुद्ध गर्दै आइरहेको छ ।