नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।
संसदमा एमसीसी निर्णायक रुपमा प्रस्तुत हुने सन्दर्भमा दुई अध्यक्षले प्रधानमन्त्री देउवालाई भेटेका हुन् । आज बिहान प्रचण्ड, नेपाल र खनालसहितका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
बैठक लगत्तै प्रचण्ड र नेपाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने पक्षमा छन् । उनले बारम्बार प्रचण्ड र नेपाललाई एमसीसी पारित गर्नका लागि सघाउनु आग्रह गर्दै आएका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले भने एमसीसी विरुद्ध मत दिने बताइरहेका छन् । आजको भेटमा पनि दुवै अध्यक्षले एमसीसी फेल गराएर फिर्ता पठाउने विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । तर प्रधानमन्त्री देउवाले भने एमसीसी पारित नै गरेर अघि बढ्नुपर्ने बताएको स्रोतले बतायो ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बिहीबार बालुवाटार पुगेका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार गएका हुन् ।
अध्यक्ष प्रचण्डले संसद्मा टेबल भएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा छलफल गर्न पुगेका हुन् ।
यसअघि सिंहदरबारस्थित नेकपा (एकीकृत समाजवादी)का नेताहरुसँग प्रचण्डले छलफल गरेका थिए । छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल सहभागी थिए ।
सरकारले यही फागुन ८ गते बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको थियो । आजदेखि बैठकमा सैद्धान्तिक छलफल हुने छ ।