नेकपा (माओवादी केन्द्र)ले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ ।
माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । ‘हाम्रो पार्टीले आजको संसद् बैठक बहिष्कार गर्दैन, तर एमसीसी संसदमा निर्णयार्थ पेस भएमा विपक्षमा मतदान गर्नेछ,’ श्रेष्ठले भने, ‘एमसीसी संसदबाट पास हुने देखियो ।’
उनका अनुसार कांग्रेस, लोसपा, एकीकृत समाजवादी र जसपाको सहयोगमा एमसीसी संसदबाट पास हुन्छ । आजै बिहान माओवादी अध्यक्षा पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी अहिल्यै पास गर्न हतार नगर्न सुझाव दिएका छन् । .
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची छ ।
संसद सचिवालयले निकालेको सूचनामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा ‘एमसीसीमाथि छलफल गरियोस्’ भन्ने उल्लेख छ । संसदमा एमसीसीमाथि छलफल चलाउन प्रस्ताव पेस गर्नुपर्ने अर्थमन्त्री शर्मा भने पवर्ततिर घुमघाममा छन् । मन्त्री शर्मा बुधबार पर्वत पुगेका थिए ।
उनी राति द क्लिफ रिसोर्टमा बसेका थिए । श्रीमतीसहित गएका शर्माले बिहीबार बिहान क्लिफ स्काइ क्याफेमा खाजा खाएका थिए । त्यसपछि उनी पर्वत जिल्ला अस्पतालको निरीक्षण गरेर माओवादी कार्यकर्तासँग भेटघाट गरेका थिए । अर्थमन्त्री शर्माले बिहीबार बिहान गुप्तेश्वर महादेव मन्दिर दर्शन गरेका थिए ।
उनीसँगै राष्ट्रिय सभाका सांसद दीनानाथ शर्मा पनि मन्दिर पुगेका थिए । एमसीसी संसदमा पेस गर्नुपर्ला भनेर छल्नकै लागि शर्मा संसदमा लगातार अनुपस्थित भइरहेका छन् । ८ फागुनमा अर्थमन्त्री शर्माले एमसीसी संसदमा पेस गर्ने कार्यसूची थियो । तर उनी बिराम भएको बहाना बनाएर उपस्थित नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका थिए ।
९ फागुनमा मन्त्री शर्मा बिहानै अर्थ मन्त्रालय पुगेका थिए । जबकि अर्थसम्बन्धी विधेयक, सन्धि, सम्झौता अर्थमन्त्रीले संसदमा पेस गर्नुपर्ने व्यवस्था छ । तर शर्मा भने पन्छिँदै आएका छन् । आज संसदमा एमसीसीमाथि छलफल हुने दिन अर्थमन्त्री उद्योग वाणिज्य संघ पर्वतको ४६औँ स्थापना दिवस र ३९औँ साधारणसभामा सहभागी हुने मन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
एमसीसीमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुपर्नेमा उनी भने छल्नकै लागि पर्वत पुगेका छन् ।