Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभर एकैपटक २१ स्थानमा सुरुङमार्ग निर्माण हुँदै

देशभर एकैपटक २१ स्थानमा सुरुङमार्ग निर्माण हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७८ बिहिवार • ०९:४८:२८ बजे
  • 1.1K
    SHARES
  • देशभर एकैपटक २१ स्थानमा सुरुङमार्ग निर्माण हुँदै

    सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८\७९ (आव)मा त्यस्तो संख्या वृद्धि गरी २१ सुरुङमार्गको अध्ययन गर्न थालिएको हो । विकसित मुलुकमा सुरुङमार्ग निर्माण कार्यले तीव्रता पाए पनि नेपालमा सुरुङमार्ग निर्माणले गति लिन सकेको छैन ।

    images

    अहिलेसम्म थानकोट–नागढुंगा सुरुङमार्गको मात्र निर्माण कार्य भइरहेको छ । यद्यपि सुरुङमार्ग निर्माण गर्ने आवाज आजको भने होइन । तत्कालीन सरकारले २०७६ मा ११ सुरुङमार्गको अध्ययन गर्ने लक्ष्य राखेको थियो ।

    सुरुङमार्ग निर्माणमा उच्च लागत र प्रविधि आवश्यक पर्छ । एक किलोमीटर (किमी) सुरुङमार्ग बनाउन न्यूनतम रू ३ अर्ब ५० करोड आवश्यक पर्छ । तर, यस्तो निर्माण कार्यले भौतिक पूर्वाधारको विकास मात्र नभई अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने भएकाले निर्माण गर्नुपर्ने अधिकारीहरू बताउँछन् ।

    सडक विभागका प्रवक्ता शिव नेपाल सुरुङमार्गले अर्थतन्त्रलाई टेवा दिने भएकाले तीमध्ये केही जतिसक्दो छिटो निर्माण गर्न आवश्यक रहेको बताउँछन् । ट्राफिक व्यवस्थापन सहज बनाउने कोटेश्वर–जडीबुटी, दाउन्ने–बर्दघाट, खुर्कोट–चियाबारी र धरानको लेउती सुरुङमार्ग निर्माणलाई विभागले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ ।

    अन्य सुरुङमार्गको पहिचान र प्रारम्भिक अध्ययन भइरहेको उनले बताए । नेपालका कुन–कुन भागमा सुरुङमार्ग आवश्यकता छ भनी पहिचान गरिएको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सम्भाव्यता अध्ययन अघि बढाइएको जानकारी दिए ।

    चालू आर्थिक वर्षमा सुरुङमार्गको अध्ययनका लागि प्रतिआयोजना रू ३० लाखदेखि रू ४० लाखसम्म बजेट विनियोजन गरिएको छ । अध्ययन लागत सुरुङमार्ग अनुसार फरक–फरक हुने नेपालले बताए । सुरुङमार्गको लम्बाइ, भौगोलिक अवस्थिति जस्ता पक्षलाई ध्यान दिएर अध्ययन बजेटको सीमा राखिएको छ ।

    यिनको प्रारम्भिक अध्ययन मात्रै गरिने र बजेट तथा लगानी सुनिश्चित भएपछि आवश्यकताका आधारमा निर्माण अघि बढाइनेछ । आगामी पुसदेखि निर्माण शुरू गरिने सिद्धबाबा सुरुङमार्गसहित अध्ययन अघि बढाइएका सुरुङमार्गमा लामाबगर, धरान–लेउती, टोखा–छहरे–गुर्जेभञ्ज्याङ, कोटेश्वर–जडीबुटी, दुम्कीबास–बर्दघाट छन् ।

    त्यस्तै हेम्जा–नयाँपुल, कुशेपाटन–ब्याउली ढुंगा–इमिलचाखोला, बाग्लुङ–ब्युँ–नरेठाँटी, कुलेखानी–भीमफेदी, खुर्कोट–चियाबारी, मझिम्टार–शक्तिखोर, थानकोट–चित्लाङ, प्रवास–जोर्ते सुरुङमार्गको अध्ययन अघि बढाइएको विभागले जानकारी दिएको छ ।

    रसुवागढी–बेत्रावती, बबई–छिन्चु, ताथली–रबीओपी, गोदावरी–मानचौर, दुम्लिङ–वासपाङ (चेपाङमार्ग), फस्रेखोला–छोरेपाटन र राजदुवोल–सुनमाई सुरुङमार्गको अध्ययन पनि अघि बढेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology