Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनको प्यानलै विजयी एमाले क्लीन स्वीप

खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनको प्यानलै विजयी एमाले क्लीन स्वीप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७८ आइतवार • ०९:४०:५१ बजे
  • 3.3K
    SHARES
  • खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनको प्यानलै विजयी एमाले क्लीन स्वीप

    एमालेले आफ्नो गढ दाबी गर्दै आएको बुटवलको एक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावमा एमाले इतरको गठबन्धनको प्यानलै विजयी भएको छ ।

    images

    बुटवल-११ को मजुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशनबाट माओवादी केन्द्रको नेतृत्वमा रहेको नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र वामदेव गौतम निकटको समूहको प्यानलले एमालेलाई क्लीन स्वीप गरेको हो ।

    गठबन्धनको तर्फबाट अध्यक्षमा पूर्णबहादुर परियारले ४०६ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका प्रकाश श्रेष्ठले २११ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सिंहबहादुर बोगटीले ३३९ मत प्राप्त गरी विजयी हुँदा एमालेका ज्ञानप्रसाद भण्डारीले २५६ मत प्राप्त गरे । सचिवमा गठबन्धनबाट नेपाली कांग्रेसकी लक्ष्मी कंडेलले एमालेका हुमाकान्त लम्साललाई पराजित गर्दै विजयी भएकी छन् ।

    कंडेलले ३६९ मत प्राप्त गर्दा लम्सालले २२४ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा गठबन्धनकी कमला पाण्डेले ३४८ मत प्राप्त गरी विजयी हुँदा एमालेकी मनकुमारी खत्रीले २४२ मत प्राप्त गरेर पराजित भइन् ।

    यस्तै कार्यसमिति सदस्यमा पनि गठबन्धनका सबै उम्मेदवारले विजयी भएका छन् । सदस्यहरूमा विक्रम गुरुङ, दीपा क्षेत्री, राजकुमारी विश्वकर्मा, रोशन केसी, भोजबहादुर पोख्रेल, हर्क जिसी र रनबहादुर गुरुङले फराकिलो मतान्तरले विजयी भएका छन् ।

    करिब ९ सय मतदाता रहेको चुनावमा ६८८ मत खसेको निर्वाचन अधिकृत बलराम नयौपानेले जानकारी दिए । बुटवल उपमहानगरपालिकाको वडा नंं. ११ को नगरको सबैभन्दा धेरै मतदाता भएको वडा हो । यसअघि वडा नंं २ को टोलको चुनावमा पनि एमालेलाई हराउँदै माओवादीसहितको गठबन्धन विजयी भएको थियो ।

    सामान्य संस्थादेखि सबै ठाउँमा चुनावी प्रतिस्पर्धा हुँदा बुटवलमा एमालेको उपस्थिति कम हुँदै गएको देखिन्छ । एमालेबाट विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी)को समेत वडा तहमा संगठन बनेपछि एमालेलाई आउँदो स्थानीय तह चुनावमा चुनौती हुने आंकलन हुन थालेको छ ।

    यसअघि देवदह खानेपानी संस्थाको चुनावमा भने सत्ता गठबन्धनसहित ६ दलको प्यानललाई एमालेले पराजित गरेको थियो । स्थानीय निर्वाचन नजिकिंदै गर्दा खानेपानी, विद्यालय व्यवस्थापन समितिलगायतका संस्थाका चुनावलाई दलहरूले प्रतिष्ठाको विषय बनाउँदै मिनि चुनावको झल्को दिने गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology