Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

तनावमा प्रचण्ड

तनावमा प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७८ सोमवार • ०९:४२:३४ बजे
  • 1.2K
    SHARES
  • तनावमा प्रचण्ड

    सत्तारूढ नेकपा (माओवादी केन्द्र)को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादीले जारी गर्यो ।

    images

    बैठक स्थगित गरेर विभिन्न विषयमा सहमति जुटाउने प्रयास अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् । तर, सहमति जुटाउन उनी असफल भएका छन् । नेताहरूको व्यवस्थापन तथा समितिलाई समावेशी बनाउने गृहकार्य गरिरहेका अध्यक्ष प्रचण्डले अझै सहमतिको मिलनबिन्दु भेटाउन नसकेको माओवादी स्रोतको दाबी छ । शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ ।

    यी एजेन्डामा सहमति जुटन नसकेपछि शनिबार र आइतबार बैठक बस्न सकेन । ‘एमसीसी प्रचण्ड कमरेडका लागि गल्फासो भएको छ । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समितिका साथै जिम्मेवारी बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन । उहाँ सहमतिमै अगाडि बढ्न खोजे पनि सबैको चित बुझाउन नसक्ने अवस्था छ, प्रचण्ड कमरेड अहिले धेरै तनावमा हुनुहुन्छ,’ माओवादी केन्द्रका एक नेताले भने ।

    सहमति जुट्न नसकेको अवस्थामा अरू एजेन्डालाई थाँती राख्दै केन्द्रीय समितिलाई पूर्णता दिएर बैठक समापन गर्ने विषयमा समेत अध्यक्ष प्रचण्डले छलफल थालेका छन् । माओवादीको विधानमा ३ सय १ जना केन्द्रीय सदस्य बनाउने उल्लेख गरिएको छ । तर, अहिलेसम्म २ सय ४६ जना मात्रै बनाइएको छ । यस्तै, केन्द्रीय कार्यालय सञ्चालनका लागि एक समिति गठन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीले विधानमा उल्लेख गरेको छ । तर, यसअघिको बैठकबाट अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत निर्वाचित गरिएको थियो ।

    ११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशन भएको दुई महिना बितिसक्दासमेत स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै हुन सकेको छैन ।

    प्रचण्डका लागि सबैभन्दा बढी जटिल विषय महासचिव कसलाई बनाउने भएको छ । नेता वर्षमान पुन र जनार्दन शर्माले भए सर्वसम्मति नभए निर्वाचनबाटै आफंै महासचिव हुने अडान लिएपछि सहमति जुट्न नसकेको स्रोतको दाबी छ । महासचिवका लागि देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेतलगायतका नेताहरू दौडधुपमा रहेका छन् । महत्वपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि नेताहरूका बीचमा तीव्र प्रतिस्पर्धा रहेको छ ।

    अन्य पदका लागि समेत नेताहरू दौडधुपमै रहेका छन् । माओवादी केन्द्रका नेता गणेश साहले बैठकका विभिन्न एजेन्डामा बैठकमा छलफल भइरहेको बताउँछन् । कतिपय विषयमा केही मिलाउनुपर्ने देखिएकाले बैठक दुई दिन स्थगित गरेर छलफल भइरहेको उनले बताए । सोमबारको बैठकमा केन्द्रीय सदस्यहरूसँगको छलफल र सहमतिमै सबै विषय सर्वसम्मत टुंगो लगाउने प्रयास जारी रहेको उनले बताए । राजधानी दैनिकबाट

  • सम्बन्धित विषय:

  • # तनावमा प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology