आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा ७२ दलले उम्मेदवारी दिने भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार उठाउने भन्दै निवेदन दर्ता गरेको आयोगका हुन् । सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सोही अनुसार तयारी गरिरहेको जानकारी दिए ।
यतिबेला मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको बताउँदै १ करोड ७८ लाख मतदाता नामावली स्थानीय तहहरुमा पठाइएको उनले बताए ।
मृत्यु भएका, बसाई सराई गरेर अन्यत्र गएकाहरूको बारेमा उजुरी प¥यो भने ति नाम मतदाता नामावलीबाट हटाइने सहप्रवक्ता अर्यालको भनाई छ ।
आयोगले चैतको सातादेखि निर्वाचन आचार संहिता लागू गर्ने तयारी गरेको छ । हाल निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री खरिद प्रक्रिया चलिरहेको आयोगले जनाएको छ ।
चुनाव चिह्न हरियो रङको हुने
स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङको हुने भएको छ । निर्वाचन आयोगले मतपत्रमा प्रयोग हुने चुनाव चिह्नको रङ टुंगो लगाएको हो । अर्यालका अनुसार २०७४ को चुनावमा सेतो कागजमा निलो रङको चिह्न थियो ।
मतदानमा प्रयोग हुने रङ पनि निलो भएकाले उज्यालो कम भएको बेला वा रातको समयमा मतगणना गर्न अप्ठ्यारो भएको थियो । पछिल्लो चुनावमा रातो रङ प्रयोग गरिएको थियो । यो पटक हरियो रङको चुनाव चिह्न हुनेछ भने स्वस्तिक छापको रङ निलो नै हुनेछ ।