प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा आबद्ध दलका नेताहरूको चित्त दुख्ने अभिव्यक्ति नदिन पनि कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
बिहीबार वीरगन्ज पुगेका प्रधानमन्त्री देउवाले स्थानीयदेखि केन्द्रसम्म तीन तहका चुनावमा तालमेलका लागि सत्तासाझेदार दलहरूभित्र छलफल हुने पनि बताए ।
‘साथीहरूले बोली, व्यवहारबाट गठबन्धनका साथीहरूलाई कुनै पनि किसिमको चिसो पर्नेदेखि लिएर बेवास्ता गर्ने कुरा छैन । हामीले सबैको सहयोग लिएर अगाडि जानुपर्छ,’ उनले भने, ‘तपाईंहरूलाई थाहा छ, हामी एक्लै चुनाव लड्दा अवस्था कस्तो थियो । हामी हारेका थियौँ ।
अहिले गठबन्धनको सरकार भएको कारणले मिलेर चुनाव लडे स्थानीय तहदेखि केन्द्रसम्म सरकार बनाउन हामी सक्छौँ ।’ सम्बोधनका क्रममा देउवाले कुनै न कुनै दलसँग कांग्रेसले सहकार्य गरेर जानुपर्ने बताए । ‘संविधानानुसार कुनै पनि पार्टीले एक्लो बहुमत ल्याउन सक्दैन ।
कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसकारण गठबन्धनमा भएका दलहरूलाई विनाकाम चिढ्याउने काम नगरौँ,’ उनले भने ।
प्रधानमन्त्री देउवाले गठबन्धनले सहयोग गरेपछि मात्र आफू प्रधानमन्त्री बनेको बताए । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)हरूको सहयोगका कारण आफू प्रधानमन्त्री बनेको उनले उल्लेख गरे ।