एजेन्सी । अमेरिकामा आएको एक शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको मृत्यु भएको छ । लाउरा नामक आँधीका कारण लुइजियानामा जनधनको क्षति भएको हो ।
रुख ढलेर लाग्दा चारजना मारिएका हुन । करिब २४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरीले निकै क्षति पुर्याएको छ। आँधीका कारण लुइजियानाको लेक चार्ल्स नगरको बाहिरी भागमा रहेको एउटा रसायन कारखानामा आगलागी भएको छ। आगलागीपछि स्थानीय बासिन्दाहरूलाई झ्याल बन्द गरेर घरभित्रै बस्न भनिएको छ।
पाँच लाख घरपरिवारका लागि विद्युत आपूर्ति बन्द भएको छ । पूर्वतर्फ लागेको लरा आँधी हाल कमजोर बन्दै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रमा तत्काल भ्रमण गर्ने बताएका छन।
लाउरा तथा अघिल्लो आँधी मार्कोले क्यारिबियन क्षेत्रमा २४ जनाको ज्यान गएको थियो। अमेरिकामा आएको सबैभन्दा शक्तिशाली समुद्री आँधी मध्येको एक मानिएको लाउरा आँधीले लुइजियाना राज्यमा निकै क्षति भएको भएपनि पहिले आशंका गरिएजति नभएको त्यहाँका गभर्नर जोन बेल एड्वार्ड्सले बताएका छन्।
छिमेकी टेक्सस राज्यका गभर्नर ग्रेग अबोटले पनि पूर्वानुमान गरिएभन्दा कम असर परेको बताए। आँधी आउनु अगाडि टेक्ससका करिब ४२ लाख बासिन्दालाई घर छाड्न भनिएको थियो भने दक्षिण, पश्चिम लुइजियानामा थप २ लाख जनालाई सुरक्षित आश्रयस्थलमा जान भनिएको थियो।
टेक्ससको एक आश्रयस्थलमा गएका एरिक डवले भने “हामीलाई सामाजिक दूरी कायम गर्न भनिएको छ। तर आश्रयस्थलमा मैले कसरी सामाजिक दूरी कायम गर्ने ?” आश्रयस्थलमा गरिने ब्यवस्थापनको कामलाई कोरोना महामारीले पनि थप जटिल बनाएको बिबिसीले जनाएको छ ।