नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि बारम्बार आक्रमणको प्रयास भएको बताएका छन् । आज लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले अहिले पनि माओवादीलाई बदनाम गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको बताए ।
उनले पहिलो संविधानसभाको निर्वाचनमा आफूलाई सिरहामा भौतिक आक्रमण गर्न खोजिएको बताए । आफुलाई मार्ने योजना बनाएर आक्रमण गर्न खोजिए पनि जनमुक्ति सेनाका कमान्डरले बचाएको उनको भनाई छ ।
‘नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्यो भने भौतिक रुपमा आक्रमण गर्ने रणनीति अहिले पनि कायम छ,’ प्रचण्डले भने, ‘पहिलो संविधानसभाको निर्वाचनमा मलाई जनमुक्ति सेनाका कमान्डरहरूले बचाएका हुन् । नत्र भने सिरहामा मारिने थिए ।’ त्यो रणनीति पनि पछि सार्वजनिक भएको उनले बताए ।
अध्यक्ष प्रचण्डले पार्टीमाथि पनि बारम्बार आक्रमण भइरहेको बताए । ‘माओवादी पार्टीलाई पटक पटक छिनो–छिनो हुने गरी आक्रमण गरियो ।
यो अहिले पनि जारी छ,’ उनले भने । माओवादीमाथि भए–नभएका कुरा गरेर आक्रमण गरिने गरेको प्रचण्डले बताए । उनले भने, ‘भएको कुरामा पनि गरिएको छ, नभएको कुरामा पनि गरिएको छ । त्यो अहिले पनि जारी रहेको छ ।’