नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् ।
बिहीबार बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलमा प्रधानमन्त्री देउवाले जसरी पनि निर्वाचन हुने बताउँदै हल्लाको पछि नलाग्न गठबन्धनका नेताहरुलाई आग्रह गरेका हुन् ।
‘स्थानीय निर्वाचन हुँदैन भन्ने हल्लाका पछाडि नलाग्नुु, चुनाव हुन्छ, हुन्छ’, निर्वाचन नहुने कुनै सम्भावना नरहेको स्पष्ट पार्दै प्रचण्ड र नेपालसँग देउवाले भने ।
बालुवाटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले ‘निर्वाचन नहुने’ हल्ला चलेको सन्दर्भ निकालेपछि प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रचण्डको निर्वाचनसम्बन्धी शंसकित प्रश्नको प्रधानमन्त्री भने, ‘यस्तै हो चुनावको अघिल्लो दिनसम्म चुनाव हुँदेन भन्ने हल्ला चलिरहन्छ ।
ढुक्क हुनुस्, चुनाव हुन्छ ।’ सो क्रममा स्थानीय निर्वाचनमा तालमेलबारे समेत तीन नेताबीच छलफल भएको थियो । स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल गरेरै जाने पक्षमा रहेका प्रधानमन्त्री देउवाले केही दिनमै पार्टीको बैठक बोलाएर चुनावी तालमेलबारे ठोस निष्कर्ष दिने जनाएका छन् ।
कांग्रेसभित्रै एक पक्षले एकल चुनाव लड्नुपर्ने बताउँदै आएका छन् ।