Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

उच्चस्तरीय कूटनीतिक भ्रमण बाक्लियो

उच्चस्तरीय कूटनीतिक भ्रमण बाक्लियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७८ आइतवार • १२:५३:४१ बजे
  • 955
    SHARES
  • उच्चस्तरीय कूटनीतिक भ्रमण बाक्लियो

    कोरोना महामारी मत्थर हुँदै गएपछि उच्चस्तरीय कूटनीतिक भ्रमणहरु बाक्लिएको छ । पछिल्ला दिनहरुमा विदेशी उच्चस्तरीय व्यक्तिले नेपालको भ्रमण र नेपालका उच्चस्तरीय व्यक्तिले विदेशको भ्रमण गर्ने क्रम बढेको हो । गत साता साउदी अरवका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले नेपाल भ्रमण गरेका थिए ।

    images

    दुई दिने नेपाल भ्रमणको सिलसिलामा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । साउदी विदेशमन्त्री साउद नेपाली समककक्षि डा.नारायण खड्कासँग द्विपक्षीय बैठकमा सहभागी भएका थिए । बैठकमा ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’मा दुई देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका थिए ।

    साउदी अरबका विदेशमन्त्री नेपाल आउनुअघि परराष्ट्रमन्त्री खड्काले टर्कीको भ्रमण गरेका थिए । एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी फागुनको अन्तिम साता टर्की गएका थिए । त्यहाँ उनले टर्कीका विदेशमन्त्रीलगायत अन्य देशका समकक्षिसँग भेटवार्ता गरेका थिए । गत फागुनको अन्तिम साता नै फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा एक टोलीले नेपाल भ्रमण गरेको थियो ।

    नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आएका थिए । नेपाल भ्रमणका बेला उनीहरुले माधवकुमार नेपालका अलवा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

    गत साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले युनाइटेड अरब इमिरेट्स (युएइ)को भ्रमण गरेका छन् । उनले नेपाली कामदार र भिजिट भिसामा युएइ पुगी दुःख पाएका नेपालीका विषयमा युएइका समकक्षिसँग छलफल गरेका थिए । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी आउँदो साता नेपालको भ्रमण गर्नेछन् ।

    उनले चैत १२ र १३ गते नेपालको भ्रमण गर्ने जनाइएको छ । नेपाल भ्रमणका बेला उनले परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन् भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) अन्तर्गत नेपालले तयार पारेका ९ वटा आयोजनाका विषयमा छलफल हुने जनाइएको छ । चिनियाँ विदेशमन्त्री फर्किएसँगै २५ सदस्यीय अमेरिकी सांसद्हरुको टोलीले नेपालको भ्रमण गर्ने छ ।

    नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा उनीहरु नेपाल आउन लागेका हुन् । नेपाल र अमेरिकाबीच सन् १९४७ अप्रिल २५ का दिन कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत तेस्रो साता श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    सम्भवत उनी चैत १६ गते श्रीलंका तर्फ प्रस्थान गर्नेछन् । श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको साथमा परराष्ट्रमन्त्री खड्का पनि श्रीलंका जानेछन् ।

    बिमस्टेकको चौथौ शिखर सम्मेलन सन् २०१८ मा काठमाडौँमा भएको थियो । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्यान्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् । सम्मेलनमा सात ओटै देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् ।

  • सम्बन्धित विषय:

  • # भ्रमण बाक्लियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology