चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौँ आउने भएका छन् । नेपाल र चीन दुवै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै छन् ।
उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नेछन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौँ आइपुग्ने छन् ।
वाङको महत्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल–चीन परराष्ट्र मन्त्री स्तरीय द्विपक्षीय बैठक बस्ने छ ।
नेपाल भ्रमणको बेला उनले रास्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शीर्ष नेताहरुसग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।