नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने दाबी गरेका छन् ।
रिपोटर्स क्लबले बुधबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले गठबन्धन रहर नभएर बाध्यता भएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धन जारी रहने बताएका हुन् ।
उनले नेपाली जनताको भावनाअनुसार राजनीतिक स्थिरता ल्याउनका लागि गठबन्धन तोड्न नहुने धारणा राखे । त्यस्तै, कांग्रेसका नेता डा.रणबहादुर रावलले अहिलेपनि पाँच दलीय गठबन्धनको आवश्यकता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए । गठबन्धन गरेपछि विश्वासका साथ सबै दल अघि बढ्नुपर्ने उनको भनाइ छ ।
साक्षात्कारमा नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले अहिलेपनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वभाविक नै भएको बताए ।
सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रुपमा छलफल चलिरहेको उनको भनाइ छ ।