Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालीको प्रतिव्यक्ति आय १७७१ डलर ,आर्थिक वृद्धिदर ६.८ प्रतिशत

नेपालीको प्रतिव्यक्ति आय १७७१ डलर ,आर्थिक वृद्धिदर ६.८ प्रतिशत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ९, २०७८ बुधवार • १९:४८:०३ बजे
  • 922
    SHARES
  • नेपालीको प्रतिव्यक्ति आय १७७१ डलर ,आर्थिक वृद्धिदर ६.८ प्रतिशत

    वि.सं. २०८२ असार मसान्तसम्म नेपालीको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १७७१ अमेरिकी डलर (हालको विनियमयदर बमोजिम २ लाख १२ हजार ५२० रुपैयाँ) पुग्ने अनुमान गरिएको छ । २०७८ असार मसान्तसम्म नेपालीको प्रतिव्यक्ति आय ११९६ अमेरिकी डलर कायम थियो ।

    images

    आउँदो असार मसान्तसम्म प्रतिव्यक्ति आय १३०६ डलर पुग्ने अनुमान छ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी ३ वर्षमा प्रतिव्यक्ति आय ५७५ अमेरिकी डलरले बढ्ने अनुमान गरेको हो । प्रतिव्यक्ति आय १२२२ डलर नपुग्दा नेपालले यस वर्ष विकासशील राष्ट्रमा स्तरोन्नति लक्ष्य नै पछि धकेलिसकेको छ ।

    स्रोत समितिले अनुमान गरेअनुसार प्रतिव्यक्ति आय बढे नेपाल मध्यम आयस्तर भएको मुलुकमा उक्लन समेत सहज हुनेछ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष राष्ट्रिय स्रोत अनुमान समिति संयोजक हुन्छन् । डा. विश्वनाथ पौडेल हाल आयोग उपाध्यक्ष हुन् । समष्टिगत आर्थिक क्षेत्र हेर्ने आयोगकै सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिव र महालेखा नियन्त्रक समितिमा सदस्य रहन्छन् ।

    योजना आयोगका सचिव समितिका सदस्य सचिव हुन्छन् । यी अधिकारीहरू सम्मिलित राष्ट्रिय स्रोत अनुमान समितिले नै आगामी तीन वर्षका लागि राष्ट्रिय स्रोत अनुमान तथा खर्च सीमा निर्धारण गरेको हो । साथै, समितिले मध्यकालीन समष्टिगत आर्थिक लक्ष्य पनि तय गरेको हो । स्रोत समितिले निर्धारण गरेअनुसार नै आयोगले संवैधानिक निकाय तथा विषय क्षेत्रगत मन्त्रालयहरूमा आगामी तीन आर्थिक वर्षको लागि बजेट सीमा निर्धारण गरी बजेट सीमा तथा बजेट तर्जुमा मार्गदर्शन पठाइसकेको छ ।

    स्रोत समितिले नेपाल सरकारको नीति तथा कार्यक्रम वर्तमान सरकारका साझा न्यूनतम कार्यक्रम र कोभिड–१९ को प्रभावबाट अर्थतन्त्रको समुत्थान लगायत पक्षका आधारमा ३ वर्षको औसत आर्थिक वृद्धिदर ६.८ प्रतिशत तोकेको छ । खर्च सीमा र स्रोत अनुमान गर्दा आगामी तीन वर्षको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७९/८०, आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ मा क्रमशः ६.५ प्रतिशत, ६.९ प्रतिशत र ७.१ प्रतिशत हासिल हुने लक्ष्य लिएको जनाएको हो ।

    मुद्रास्फीति (महँगी) पहिलो वर्ष ७ तथा दोस्रो र तेस्रो वर्ष ६.५ प्रतिशतको सीमाभित्र रहने पनि स्रोत समितिले अनुमान गरेको छ । आर्थिक जोखिम सूचकाङ्क हालको २४.२ प्रतिशतबाट २०८२ असार मसान्तमा २२.५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । कृषिलाई प्राथमिकता दिँदै प्रस्तावित बजेटमाथि छलफल थालेको सरकारले आगामी ३ वर्षमा कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर हालको २.३ प्रतिशतबाट ३.७ पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ ।

    उद्योगतर्फ वृद्धिदर हालको ३.३ बाट ११.३ प्रतिशत र सेवातर्फ ७.८ पुग्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति आय १७७१ अमेरिकी डलर पुर्‍याउन, ६.८ प्रतिशत औसत आर्थिक वृद्धिदर हासिल गर्न र तोकिएका समष्टिगत आर्थिक लक्ष्य हासिल गर्न आगामी तीन आर्थिक वर्षभित्र सरकारले ५८ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको संघीय बजेट ल्याउने अनुमान छ ।

    यसमध्ये राजस्वबाट ४७ खर्ब २९ अर्ब रुपैयाँ जुटाउने र ८ खर्ब ३९ अर्ब वैदेशिक सहायता जुटाउने प्रक्षेपण गरिएको छ । यो अवधिमा सरकारले ८ खर्ब २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने जनाइएको छ । आउँदो निर्धारित अवधिमा सरकारले संघीय विभाज्य कोषबाट राजस्व बाँडफाँटबापत प्रदेश र स्थानीय तहमा १ खर्ब ९८ अर्ब रुपैयाँ पठाउने अनुमान छ ।

    नेपाल सरकारले ४२ खर्ब ९ अर्ब रुपैयाँ राजस्व परिचालन गर्न सक्ने प्रक्षेपण छ । स्रोत अनुमान तयार गर्दा स्रोत समितिले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई आधार बनाएको जनाएको छ । यो ऐन कार्यान्वयनमा ध्यान नदिँदा बजेट खर्चदेखि अनुशासन तथा आन्तरिक नियन्त्रणसम्मका पक्षमा सरकारी निकायहरूले कमजोरी सुधार्न सकेका छैनन् ।

    आगामी ३ आर्थिक वर्षका लागि स्रोत अनुमान गर्दा संविधानमा उल्लेखित मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीति, पन्ध्रौँ योजना, चालु आर्थिक वर्षको मध्यकालीन खर्च संरचना (२०७६/७७–२०७८/७९), नेपाल सरकारका साझा न्यूनतम कार्यक्रम र कोभिड–१९ को प्रभावबाट अर्थतन्त्रको समुत्थान गर्ने विषयवस्तुलाई प्रमुख आधार मानिएको स्रोत समितिले जानकारी दिएको छ ।

    खर्च सीमा निर्धारण तथा स्रोत अनुमान गर्दा आर्थिक वृद्धिदरको लक्ष्य र विषय क्षेत्रगत लक्ष्य हासिल गर्न आवश्यक स्रोतको आङ्कलन तथा अनुमान गरिएको जनाइएको छ । अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र नेपाल राष्ट्र बैंकबाट प्राप्त विवरण समेत अध्ययन गरी खर्च सीमा तथा स्रोत निर्धारणमा आर्थिक वृद्धिदर, मुद्रास्फीति, राजस्व तथा वैदेशिक सहायता र आन्तरिक ऋण परिचालनलाई आधार लिइएको योजना आयोगले जनाएको छ ।

    आयोगका अनुसार वैदेशिक सहायताको अनुमान अर्थ मन्त्रालयबाट प्राप्त वैदेशिक सहायता प्राप्तिसम्बन्धी विवरणमा आधारित रहेको छ । आन्तरिक ऋणको सीमा कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतभित्र रहने गरी अनुमान गरिएको छ भने वित्तीय संघीयता अन्तर्गत अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम राजस्व बाँडफाँट एवम् प्रदेश र स्थानीय तहको खर्चको अवस्था र आवश्यकताका आधारमा मुद्रास्फीति समेतलाई ध्यान दिइएको आयोगको दाबी छ ।

    आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ मा नेपाल सरकारको कुल स्रोत वा खर्चको सीमा क्रमशः १७ खर्ब ४५ अर्ब, १९ खर्ब ३१ अर्ब र २१ खर्ब ९२ अर्ब रहने प्रारम्भिक अनुमान छ । नेपाल सरकारले सङ्कलन गर्ने राजस्व आगामी तीन आर्थिक वर्षमा सरदर १५ प्रतिशत तथा संघीय सर्वसञ्चित कोषमा दाखिला हुने राजस्वको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २६ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology