पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीका सांसद्हरूलाई अविश्वासको प्रस्तावमा मतदानको दिनमा नेशनल एसेम्बलीको बैठकमा सहभागी नहुन कडा निर्देशन दिएका छन् ।
अप्रिलको पहिलो साता हुने अविश्वासको प्रस्तावमाथिको मतदानमा सहभागी नहुन प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसद्हरुलाई निर्देशन दिएका हुन् ।
पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) सांसद्हरूलाई लेखेको पत्रमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले भनेका छन्, ‘ नेसनल एसेम्बलीमा अविस्वासको प्रस्तावमाथि हुने मतदानमा उपस्थित नहुनु वा बैठकमा उपस्थित नहुनु ।’
तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुने छ । विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए ।
पाकिस्तानका विपक्षीले सोमबार तल्लो सदन नेसनल एसेम्बलीमा खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको एक दिनपछि प्रधानमन्त्रीको यो निर्देशन आएको हो । सन् २०१८ मा पदभार ग्रहण गरेपछि खानले सबैभन्दा कठिन राजनीतिक परीक्षाको सामना गरिरहेका छन् ।
उनको पार्टीमा गम्भीर मतभेद र सत्तारूढ गठबन्धनमा दरारहरू देखा परेका छन । पार्टीमा उनको स्थिति कमजोर बन्दै गएको छ । ३४२ सिट रहेको सदनमा प्रधानमन्त्रीलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले दाबी गरेका छन् ।
विपक्षीको कदमपछि पाकिस्तानमा राजनीतिक अस्थिरता बढेको छ भने जुन सुकै बेला सरकार ढल्न सक्ने खतरा बढेको छ ।
खानले आफ्नो पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) पार्टी र राजनीतिक सहयोगीहरूको सहयोगमा अविश्वासको प्रयासलाई पराजित गर्ने बताउँदै आएका छन् ।