२०७७ असोजमा खरिद गरिएको दुई वटा रेल नियमित संचालनको लागि आज उद्घाटन गरिँदै छ । १ फागुनदेखि बिना यात्रु (ड्राई रन) हुँदै आएको कुर्था–जनकपुर–जयनगर रेल सेवा नियमित रुपमा सञ्चालनका लागि भारतको नयाँ दिल्लीबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय पधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिउँसो साढे १२ बजे भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
शनिबारर दुई देशका प्रधानमन्त्री उद्घाटन गरेपनि रेल सेवा नियमित रुपमा चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले बताए । महाप्रबन्धक झाका अनुसार नेपाली समय साढे १२ बजे भारतको जयनगरस्थित नेपाली स्टेसनबाट रेलको उद्घाटन भइ सञ्चालन हुने छ ।

जयनगरबाट आउने रेलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव जनकपुरधाम हल्टमा रेलमा चढ्ने छिन् । मन्त्री यादव चढेर कुर्थासम्मको यात्रा गरेपछि पुनः रेल जनकपुर आउने छ ।
जनकपुरधाम कार्यालय परिसरमा आयोजना हुने कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्ने कार्यक्रम छ । सर्वसधारणलाई रेलमा चढ्न आइतबारदेखि मात्रै खुल्ला हुने महाप्रबन्धक झाले जानाकारी दिए । उनले अगाडि भने, “शनिबार टिकट काटिने छैन, आइतबारदेखि मात्रै टिकट काटने व्यवस्था मिलाएका छौँ ।
‘टिकट काटने कर्मचारीदेखि लिएर अन्य कर्मचारी शुक्रबार नै जिम्मेवारी तोकिएको स्टेसन तथा हल्टहरुमा खटिसकेका छन् । तर, शनिबारदेखि यात्री बोकेर चलाउन प्राविधिक समस्या भएकोले आइतबारदेखि नियमित संचालन गर्ने योजना बनाएका छौँ ।”
भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयननर–विजलपुर–बर्दिवाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर– कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको महाप्रबन्धक झाले बताए । रेल सञ्चालनका लागि चालकसहितका प्रविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसिएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रन्धक झाले बताए ।
विगतमा चोरी भएका रेल्वे ट्रयाकको क्लिपहरु लगाइसकेको र एलबी लेभवन गेटसमेत मर्मत सम्भार भइसकेको उनले बताए । विसं २०७७ साल असोजमा नेपाल सरकारले भारतीय रेल्वे कोकंण कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा बोगिसहितको दुई वटा रेल खरिद गरेको थियो । तर, कानुन, कर्मचारी र वजेटको अभावमा रेल सञ्चालन हुन सकिरहेको थिएन ।
रेल सञ्चालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन दुई पटक फेल भएपछि केही दिनअघि तेस्रो पटक अध्यादेशबाट ल्याएको कानुनअनुसार रेल सञ्चालन हुन लागेको हो ।