Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

विप्लवको पार्टीले अन्नपूर्ण होटलको विवादित मुद्धा मिलाइदिने शर्तमा पाँच करोड लिएपछि.......

विप्लवको पार्टीले अन्नपूर्ण होटलको विवादित मुद्धा मिलाइदिने शर्तमा पाँच करोड लिएपछि.......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २४, २०७८ बिहिवार • १२:४७:४६ बजे
  • 3.2K
    SHARES
  • विप्लवको पार्टीले अन्नपूर्ण होटलको विवादित मुद्धा मिलाइदिने शर्तमा पाँच करोड लिएपछि.......

    नेपालीमा एउटा कथन छ– पैसा देखेपछि महादेवका पनि तीन नेत्र । आफूलाई द्वन्द्वात्मक भौतिकवादी आदर्शको पक्षपाती ठान्ने कम्युनिष्टहरु ‘महादेव’को अस्तित्व त स्वीकार गर्दैनन्, तर यो कथन उनीहरुको हकमा झन् धेरै मेल खान्छ । कम्युनिष्टहरुको मुखैमा झुण्डिएको एउटा कोटेसन छ– जनतासँग सियो र धागो पनि सित्तैमा नलिनु ।

    images

    अनुशासनका आठ नियमको प्रतिपादक चिनियाँ क्रान्तिका नेता माओत्सेतुङले ‘जनताको सित्तैमा लिनु हुँदैन’ भनेको कुरालाई सदाचार र सुशासनसँग जोडेर जनता र कार्यकर्तालाई प्रवचन दिने कम्युनिष्ट नेताहरु आफैं भने उठाउ धन्दामा लागेका थुप्रै उदाहरण छन् । माओद्वारा स्थापित विचार र संस्कृतिको जगमा क्रान्ति गर्न हिँडेको भन्नेहरु नै मुध्दा मिलाउने या पार्टी चलाउने नाममा चन्दाको खेति गर्न अरुभन्दा एक कदम अघि छन् ।

    संसदीय राजनीतिमा लागेका वामपन्थी पार्टीका कुरा छाडौँ आफूलाई खाँटी क्रान्तिकारी दाबी गर्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु समेत यसबाट अछुतो रहेनन् । नेकपाका एक जना उच्च तहका नेताले मुध्दा मिलाइदिने नाममा एक धनाढ्य व्यापारीसँग पाँच करोड उठाएको घटनाले यतिबेला राजनीतिक वृत्तमा चर्चा र चासो बढाएको छ ।

    झण्डै तीन वर्षे प्रतिवन्ध झेलेर गत वर्ष खुला राजनीतिमा आएको विप्लव समूह यतिबेला चुनाव उपयोग कि बहिष्कार ? भन्ने बहसमा छ । कपिलवस्तुमा हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले चुनाव उपयोगको नीतिसहित पेश गरेको राजनीतिक प्रतिवेदन टालटुल पारेर पारित भएको छ । चुनावको पक्ष–विपक्षमा बहस गर्माइरहेका बेला बैठकमा सचिवालय सदस्य हेमन्तप्रकाश वली सुदर्शनले एकै ठाउँबाट पाँच करोड बटुलेको विषय कडिकडाउसँग उठेपछि यो काण्डको पर्दाफास भएको हो ।

    सचिवालय सदस्य सुदर्शनले पार्टीलाई थाहै नदिई काठमाण्डौको दरवारमार्गस्थित पाँच तारे अन्नपूर्ण होटलको विवादित मुद्धा मिलाइदिने शर्तमा पाँच करोड लिएपछि विप्लवको राजनीतिक प्रस्तावलाई नै ओझेलमा पार्नेगरी यो विषय छताछुल्ल भएको बताइन्छ । बैठकमा चर्कैसँग कुरा उठेपछि आफ्ना कार्यालय सचिव केदार शिवाकोटी सबै पैसा कुम्ल्याएर वैद्यको पार्टीतिर छिरेको सुदर्शनले स्पष्टीकरण दिएका थिए ।

    विप्लवको बैठकले भने एक महिनाभित्र सो रकम फर्काउन वैद्यबालाई समय दिने निर्णयसहित यो प्रकरणमाथि बिराम लगाएको छ । के हो घटना ? होटल एशोसिएसन नेपाल (हान) की सृजना राणा र नाम नखुलेका एक जनाबीच अन्नपूर्ण होटलको स्वामित्वका विषयमा झगडा चर्किएको थियो ।

    चन्दा उठाउन अनुभवी कमरेडहरु यो घटनामा नजोडिने कुरै भएन । यस्ता विवाद मिलाउन विप्लवहरुले पार्टीमा न्यायिक विभाग नै खडा गरेका छन् । तर, यो मुध्दा भने विभागसम्म पुग्नै पाएन, सचिवालय सदस्य वलीले वीचमै हाइज्याक गरे । पाँच करोडमा डिल टुंग्याएका उनले पीडित पक्ष र पार्टीलाई ५०–५० लाख दिएर बाँकी आफैँले राख्ने गरी कुरो मिलाएको बताइन्छ । नेकपाका एक नेताले भनेअनुसार यो मुध्दा पार्टीको न्यायिक विभागले हेर्नुपर्ने हो । तर, शुरुमा विप्लवका माहिला दाजु जयन्द्र चन्द, जो खेलकुद मोर्चाका अध्यक्ष छन् उनी आफैं अग्रसर भए ।

    त्यसबापत खेलकुद संगठनलाई खर्चपर्च मिलाउने गरी दुई पक्षबीच कुराकानी भैरहेको थियो । न्यायिक विभागका चुडामणि वली ‘आदर्श’लाई गुमराहमा पारेर जयन्द्र केस मिलाउन आफैँ कस्सिएपछि अर्का वली अर्थात हेमन्तप्रकाश अगाडि सरेको आरोप छ । वलीको टोलीले मुध्दा मिलाएर पाँच करोड बुझ्यो, त्यो पनि नेपाली कागजमा बकाइदा लेखेर । पैसा बुझेपछि आफूनिकट शिक्षक नेता गुणराज लोहनीमार्फत ५० लाख विप्लवलाई पु¥याउन पठाइयो । यसबारे नजिकबाट जानकारी लिइरहेका जयन्द्रले तत्कालै पैसा नलिन विप्लवलाई खबर गरे ।

    पीडितलाई नै मर्का पर्ने गरी पैसा लिएको र ठूलो रकम लुकाएर पार्टीलाई जम्मा ५० लाख दिन लागेको बुझ्नासाथ विप्लव पनि झस्किए । र, ’पछि छलफल गरौंला, यो पैसा सम्बन्धित मान्छेलाई फिर्ता दिनु’ भनेर जस्ताको त्यस्तै झोला फर्काइदिए । त्यहाँबाट बाहिर आएको यो काण्ड पछिल्लो केन्द्रीय कमिटी बैठकसम्म पुग्दा छताछुल्ल भएको हो । यसअघि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ पर्दा राणासँग ५ करोड चन्दा लिएको कागजात प्रहरीले फेला पारेको थियो । तर, वलीले डिल गरेर प्रकाण्डतिर क्षेप्यास्त्र हानेको विप्लव माओवादीका एक नेताले बताए ।

    पार्टी च्यानल बाहिरबाट वलीले रकम लिएपछि उतिबेलै विप्लवलगायतका केही नेताले प्रश्न उठाएका थिए । शुरुमा नेतृत्व तहमा मात्रै सीमित यो विषय थामथुम पार्न खोजिएको थियो, तर कपिलवस्तु बैठकमा विप्लवको प्रतिवेदनको विपक्षमा वली उभिएपछि यसले राजनीतिक रंग लिएको बताइन्छ ।

    बैठकमा बोल्ने धेरै नेताले १०–२० हजार चन्दा उठाउने कार्यकर्तालाई अनुशासनको डण्डा बर्साउने तर नेताहरुले करोडौँ तलमाथि पार्दा पनि चुपचाप बस्नुपर्ने कारणबारे प्रस्ट्याउन कडिकडाउ माग गरेका थिए । चन्दा काण्डले विप्लवका थुप्रै नेता–कार्यकर्ता पटक–पटक कारवाहीमा परिसकेका छन् । यसअघि कपिलवस्तुकै एक जना जिल्ला सदस्यले ५० हजार उठाएर खाएको आरोपमा निश्कासनमा परेका थिए भने जनपत्रकार संगठनका तत्कालीन अध्यक्ष प्रकाश डुम्रे चन्दाकै विषयले संगठनबाट निकालिएका थिए ।

    डुम्रेले दुई वर्षअगाडि अत्तरियाको सुकुम्बासी बस्तीको जग्गा मालिकसंग सुटुक्क चन्दा लिँदा प्रश्न उठेपछि जिम्मेवारीबाट हात धुनुपरेको थियो । पाँच करोड घोटाला काण्ड चर्किंदै जाँदा कपिलवस्तु निस्कनुअघि विप्लवले बोलाएर पैसा फिर्ता दिन गरेको आग्रह वलीले नमानेको बताइन्छ ।

    बरु भ्रष्टाचारको विषय उरालेर आफूलाई पार्टीबाट निकाल्न खोजिएको भन्दै वली मोहन वैध्य नेतृत्वको क्रान्तिकारी माओवादीमा जान खोजेको विप्लवका एक नेताले बताए । उनका अनुसार अहिले चुनाव उपयोगको प्रस्तावको विपक्षमा उभिने वलीको अडान पनि यो मुध्दासँग जोडिएको छ । जन आस्थाबाट

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology