नेकपा एमाले दोलखाका चालिस जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । मेलुङ गाउँपालिका वडा नम्बर-६ बाट एमालेका प्रभावशाली नेता मानिएका श्रीराज पोखरेलको नेतृत्वमा २ दर्जनभन्दा बढी नेताकार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
साना किसान सहकारीका अध्यक्षसमेत रहेका पोखरेल २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाअध्यक्षका प्रत्यासी थिए । यसैगरी ‘शैलुङ चालक समाज’का महासचिव दिलिप श्रेष्ठको नेतृत्वमा सिङ्गो चालक समाज नै एकीकृत समाजवादीमा प्रवेश गरेको छ ।
पार्टीनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा प्रवेश कार्यक्रमकाबीच पार्टी अध्यक्ष माधवकुमार नेपालले उनीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले गलत व्यक्तिको कब्जामा परेकाले नयाँ पार्टी खोलेको बताए ।
उनले भने, ‘त्यहाँ बस्नुको मतलव दास हुनु हो, त्यहाँ बस्नुको मतलव दासता स्वीकार्नु हो, त्यहाँ बस्नुको मतलव मुख बुजो लगाएर बस्नुपर्ने हुन्छ, बोलिहाल्यो भने कार्बाहीको सिकार हुनुपर्ने हुन्छ, होइन भने निरीह भएर बस्नुपथ्र्यो ।’ पार्टीको निर्देशनको अवज्ञा गरे पार्टीभित्रै अपमान सहनुपर्ने अवस्था देखिएको उनले बताए । उनले भने, ‘चुप लाग्नुस्–चुप लाग्यो ।
निस्किनुस–निस्कियो । कसैले बोल्न खोज्यो त्यहाँका स्यालहुइयाँ साइबर स्यालले कराउथे एइइई चुप लाग चुप लाग १ भनेपछि आफ्नै बेइजती ।’ एमालेमा अहिले विगतमा १० भाई समुह चलाएका नेताहरूको अवस्था बिजोग भएको अध्यक्ष नेपालले टिप्पणी गरे । ‘त्यहाँ हेर्नुस त १० भाईको कस्तो बिजोग छ रु १० भाई भन्यो भने कोइकोइ भन्छन् बहिनी पनि त छन् नि–दिदी । यो तपाईहरू आफू जान्नुहोस्,’ उनले भने ।
यस्तै अध्यक्ष नेपालले ३० बैशाखमा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा विजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको बताए । नेपालले ३० बैशाखमा स्थानीय तह निर्वाचन हुनेमा आशंकासमेत व्यक्त गरे । ‘३० बैशाखमा चुनाव हुने भनेर निर्वाचन आयोगले हिजो आचारसंहिताको कुरा पनि अगाडी सारेको छ ।
समस्या त छ,’ नेपालले अगाडि भने, ‘५ जेठमा पहिलो चुनाव भएको थियो, १५ असारमा अर्को चुनाव भएको थियो, ७ असोजमा अर्को चुनाव भएको थियो, असोजमा चुनाव भएकाहरुको अझै ५ वर्ष पुगेको छैन ।’
‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच बर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने ? त्यसो हुनाले कानुनमा त्रुटि छ, संबैधानिक उनीहरूको अधिकारको हनन् भएको छ,’ नेपालले भने, ‘त्यसो हुनाले यो चुनावले असोज महिना पाँच बर्ष पुग्नेहरूको भावना विपरीत छ ।’
स्थानीय तह निर्वाचनमा ३० बैशाखमा गराउने सरकारको निर्णयविरुद्धमा भंगहा नगरपालिकाका मेयर सञ्जिवकुमार सिंहले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको प्रसङ्ग उल्लेख नगरी त्यसतर्फ भने ईगिंत गरे ।
यद्यपि, ३० बैशाखमा निर्वाचन हुने वा नहुने भन्नेमा नेपालले आशंका ब्यक्त गरे पनि चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । ‘भोलि जे होला, अहिले हामी तयारीमा जुटौं, अहिले हामी ३० बैशाखका चुनावको तयारीमा जुटौं’ नेपालको भनाइ छ ।