एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध विभिन्न देशले भ्याक्सिन बनाइरहेका छन् । करिब १ सय ७० वटा भ्याक्सिन परीक्षणका विभिन्न चरणमा रहेका छन् ।
यही परिस्थितिका बीच एक विवादित इमामले भ्याक्सिन लगाउनु हराम भएको भन्दै सबै मुसलमान समुदायलाई प्रयोग नगर्न अपिल गरेका छन् । इमाम सुफयान खालिफाले एक भिडियो पोष्ट गर्दै भ्याक्सिन नलगाउन अपिल गरेका हुन् ।
भिडियो पोष्टमा खालिफाले कोरोना विरुद्धको भ्याक्सिनको समर्थन गरेका अन्य मुस्लिम संगठनमाथि प्रश्न उठाउँदै आफ्ना फलोअर्सलाई भ्याक्सिन प्रयोग नगर्न अपिल गरेका हुन् । अष्टेलियाको पर्थमा बसोबास गरिरहेका खालिफाले फासिज्मको विरोध गर्दै भ्याक्सिन नलगाउन अपिल गरेका अन्तर्राष्टिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
डेली मेलमा प्रकाशित रिपोर्टअनुसार अन्य धार्मिक नेताले पनि कोरोना भ्याक्सिनको विरोध गरिरहेका छन् । अक्सफोर्डले बनाएको भ्याक्सिन परित्याग गरिएको बच्चाको सेलबाट बनेको भन्दै विभिन्न धर्मका गुरुहरुले यसको विरोध गरिरहेका रिपोर्टमा उल्लेख छ ।