माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् ।
बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर अंकित चुनावी पोस्टर राखेका थिए । सरकारी तलब बुझ्ने घिसिङको तस्बिरलाई चुनावी प्रचार प्रसारको सामग्री बनाउँदा निर्वाचन आचार संहिता आकर्षित हुने भन्दै जनस्तरमै आलोचना भएको थियो ।
कार्यकारी निर्देशक घिसिङले पनि आफूलाई नसोधी चुनावी पोस्टरमा आफ्नो तस्बिर राखिएकोमा आपत्ति जनाउँदै हटाउन प्रचण्डको निजी सचिवालयलाई निर्देशन दिएका थिए ।
‘मलाई नसोधी चुनावी पोस्टरमा मेरो तस्बिर राखिएको रहेछ । यसमा मेरो विमति छ । मैले पोस्टर हटाउन भनेको छु,’ घिसिङले भनेका थिए ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले निर्देशक घिसिङले पोस्टर हटाउन आग्रह गरेको स्वीकार्दै भने, ‘अरु साथीले प्रचण्डको सामाजिक चलाउँदा गडबड गरेछन् ।’
त्यसको समयपछि प्रचण्डको फेसबुक पेजबाट घिसिङको तस्बिर अंकित चुनावी पोस्टर हटाइएको छ । तर, प्रचण्डकी छोरी गंगा दाहालको फेसबुक पेजमा भने सो पोस्टर कायमै छ ।
प्रचण्डले राखेको प्रचार सामग्रीमा प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो ।
कुलमानले प्रचण्डको सचिवालयलाई भने– पोस्टरमा मेरो तस्बिर राख्न मिल्दैन, हटाउनुस्
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र)ले आफ्नो तस्बिर अनुमति बिना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् बुधबार बिहान सार्वजनिक गरेको चुनावी पोस्टरमा घिसिङको पनि तस्बिर राखिएको थियो ।
पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निःशुल्क बिजुलीको ह्यासट्याग भोट फर सिपिएन माओइस्ट’ लेखिएको थियो । यो पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाएका हुन् ।
‘ यो कुरा मलाई थाहा थिएन । मेरो तस्बिर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् । निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले मेरो तस्बिर राख्न दिँदैन । थाहा पाउनेवित्तिकै हटाउन भनेको छु,’ प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भने ।