नेकपा (एमाले) र राप्रपा नेपालबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।
बुधबार काठमाडौँमा दुई दलका नेताहरुबीच तालमेल गर्ने सहमति भएको हो । यो सहमतिसँगै अब राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा एमालेको चुनाव चिन्ह सूर्य लिएर प्रतिस्पर्धा गर्ने भएको छ ।
दुवै पार्टीबीच देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने भएको हो । दुवै दलका नेताहरुबीच भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरु राप्रपा नेपालमै आबद्ध रहने छ ।
त्यस्तै, राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।
पोखराको मेयर र उपमेयर छान्न एमालेमा आन्तरिक मतदान
आसन्न स्थानीय निर्वाचनअन्तर्गत पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवार छान्न आज एमालेले आन्तरिक मतदान गर्ने भएको छ । सर्वसम्मत रुपमा उम्मेदवार छान्न नसकेपछि मतदानबाट टुंग्याउन लागिएको हो । यहाँको मेयरमा १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन् ।
मेयरमा प्रदेश सांसदहरू कृष्ण थापा र राजीव पहारीसहित वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्वअध्यक्ष दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीको नाम सिफारिस भएको छ ।
उपमेयरमा पत्रकार सुष्मा पौडेल, वडाध्यक्षहरू शोभामोहन पौडेल र जीवन आचार्य, नेताहरू वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी त्रिपाठी, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादृुर क्षेत्री दावेदार छन् । आज ४ बजेट उनीहरूबीच प्रतिस्पर्धा हुने र मतदानमार्फत् टुंगो लगाइने एमाले पोखराले जनाएको छ ।