धेरै पालिकाहरुमा युवाहरुले जनप्रतिनिधि बन्न आकांक्षा देखाएका छन् । ३५ वर्षभन्दा मुनिका युवाहरुको जनप्रतिनिधि वन्न देखिएको दौडधुपले महोत्तरीमा रौनक देखिएको छ ।
बर्दिबास नगरपालिकाका–१ का अध्यक्षका आकांक्षी निरज अधिकारी र सौरभ खडका यसपालीको सत्ता सञ्चालन युवाहरुले गर्नुपर्ने बताउँछन् ।
पार्टीभित्र अग्रज धेरै भएपनि युवाहरुले सकारात्मक सोच र समृद्धिका लागि नवीन योजना बनाउन सक्ने उनीहरुको भनाइ छ । “पार्टीले युवाहरुलाइ अग्रसर बनाएर नयाँ राजनैतिक धारको विकास गर्नुछ भने विकासका आधारहरु तयार गरेर रोजगारी सिर्जना गर्नु छ,” उनीहरु दुवैको साझा भनाइ छ ।
त्यस्तै बर्दिबास–१०, ११ तथा वडा नम्बर ३ मा पनि युवाहरुले वडा अध्यक्षका लागि दाबी गरेका छन् । वडा नम्बर ३ का गणेश बस्नेत, पूर्णबहादुर, नरबहादुर खनाललगायतले आकांक्षा देखाएका छन् ।
अकांक्षीहरुमध्ये छोटो समयमा नै राजनीतिक भूमिकाबाट छुट्टै छाप छोड्न सफल युवा नेता गणेश बस्नेतको निक्कै चर्चा छ । स्थानीयले पार्टीभन्दा पनि व्यक्तिको क्षमता र सोचलाइ हेरेर आफ्नो मत प्रयोग गर्ने बताइरहेको बेला युवा सहभागीतालाइ महत्वपूर्ण ढंगले हेरिएको छ ।
त्यस्तै, अन्य वडाका युवाहरुले पनि अकांक्षा देखाएका छन् । पाटीले युवा सहभागीतालाइ जोड दिने बताइरहेको बेला युवाहरुको आकर्षणले सकारात्मक सन्देश प्रवाह गरिरहेको स्थानीय बताउँछन् ।
राजनैतिक संस्कारलाई परिवर्तन गर्नपनि युवाहरुले नेतृत्व लिनुपर्ने बर्दिबास–१ का सुदर्शन काफ्ले, वडा नम्बर ४ का हरि काफ्ले बताउँछन् । यसैबीच नेपाली कांग्रेसले जिल्लाको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकामा केही वडाहरुमा उम्मेदवार टुंगो लगायत पनि अन्य पालिकाहरुमा प्रक्रियामा नै छ ।
नेपाली कांग्रेसका नेता चिरिञ्जीवी हमालका अनुसार शनिबार बेलुकासम्म उम्मेदवार टुंगो लगाएर सिफारिस भएका नामहरु जिल्लामा बुझाउने कार्यक्रम छ ।
यता नेकपा एमाले भने अझै अलमलमा छ । आकांक्षीहरुको संख्या अत्याधिक भएको कारणले उम्मेदवार टुंगो लगाउन नसकिएको नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले जानकारी दिए ।