Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अर्थव्यवस्था सुधार उन्मुख छ : अर्थमन्त्री

अर्थव्यवस्था सुधार उन्मुख छ : अर्थमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ५, २०७९ सोमवार • १२:२७:१२ बजे
  • 958
    SHARES
  • अर्थव्यवस्था सुधार उन्मुख छ : अर्थमन्त्री

    नेपाल उद्योग परिसंघ (सिएनआई)को अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेको छ। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो।

    images

    सो भेटमा सिएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिँदै विदेशी मुद्राको सञ्चितीमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथि उठाउने दुई मुख्य विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रको सुरुवातमै उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताएका थिए।

    नेपालको कूल ग्राहस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलंकाको कूल ग्राहस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको सो अवसरमा सिएनआईको कार्यपत्रमा प्रस्तुत गरिएको थियो। त्यस्तै नेपालको वास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको, जिडिपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत रहेको, कूल वैदेशिक मुद्रा सञ्चितीतर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलर मात्रै रहेको कार्यपत्रमा उल्लेख थियो। त्यस्तै अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्र मार्फत जानकारी दिइएको थियो।

    अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य-मुख्य सूचकांकमा नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरे मजबुत रहेको अग्रवालले बताएका थिए। सो अवसरमा सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्राको सञ्चितीमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिएका थिए।

    उनले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक फरक बनाउन पनि सुझाव दिएका थिए। आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै उनले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरू धमाधम घोषणा गर्नुपर्ने बताए। उनले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासिय नेपालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्ने लगायतका सुझाव दिए थिए।

    सो अवसरमा अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलनै नहुने कुरा आफूले बारम्बार भन्दै आएको जानकारी दिएका थिए। ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन्। चुनावी मुद्धा पनि बनाएका छन्,’ मन्त्री शर्माले भने, ‘यथार्थमा नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं।’

    उनले आगामी आव ०७९-८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने जानकारी पनि दिए।

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology