विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रियसदस्य उमा भुजेल रिहा भएकी छन ।बन्दीप्रत्यक्षीकरणाकाे रिट निवेदनमाथि सुनुवाइ गर्दै आज सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै भुजेल रिहा भएकी हुन् ।
उमा भुजेलको तर्फबाट उनकी बहिनी शुशिला भुजेलले दायर गरेको रिट उपर सुनुवाई गर्दै न्यायधीसद्वय दीपककुमार कार्की र हरिकृष्ण कार्कीकाे संयुक्त इजलासले उनलाइ गैर न्यायिक थुनाबाट रिहा गर्न आदेश दिएकाे थियाे ।
नेतृ भुजेललसँगै सुमनसिहं पौडेल पनि रिहा भएका छन । भुजेललाई सुनसरी जिल्ला अदालतले भदौ २ गते साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । तर रिहा हुनासाथ अदालत परिसरबाटै गिरफ्तार गरि झण्डै एक बर्षदेखि जेल तथा हिरासतमा रहेकी नेतृ भुजेललाई मास्क नलगाई हिँडेको मुद्धा सप्तरी प्रहरीले चलाएको देखिएको थियो ।
रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना, चिरन्जीवी ढकाल, पंकज कुमार कर्ण, सन्तोष कोईराला, राजु अधिकारी, खिमानन्द अधिकारी, चुडाबहादुर निरौलाले बहस गरेका थिए ।
आदेशमा पहिले देखि नै निरन्तर थुनामा रहेका व्यक्तिलाई विना कारण फरक आस्था र विचारकै कारणले पक्राउ गर्ने र अनुसन्धान गर्ने कार्य न्यायिक दृष्टिले औचित्यपूर्ण नदेखिएको भनिएको छ ।
भुजेल ०७६ पुष १२ गते सुनसरीबाट पक्राउ परेकी थिईन् । त्यस पछि झापा, जनकपुर, कैलाली, गोर्खा, ललितपुर, भोजपुर, संखुवसभा हुदै पुनः सुनसरी पछि सप्तरी लगिएको थियो ।