Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

किन हुन सकेन् गठबन्धनको संयुक्त चुनावी सभा ?

किन हुन सकेन् गठबन्धनको संयुक्त चुनावी सभा ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ५, २०७९ सोमवार • १८:२३:५८ बजे
  • 769
    SHARES
  • किन हुन सकेन् गठबन्धनको  संयुक्त चुनावी सभा ?

    स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न ७५ भन्दा बढी कार्यक्रममा सहभागी भए । त्यसका लागि पूर्वको मोरङदेखि पश्चिमको धनगढीसम्म पुगे । जहाँ उनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्‌वारलाई विजयी गराउन अनुरोध गर्दै सार्वजनिक भाषण गरे ।

    images

    अधिकांश कार्यक्रममा पाँच दलीय गठबन्धनबाटै चुनाव लड्ने उनको दाबी थियो । हरेक स्थानीय तह तालमेल गर्दै अघि बढ्ने र त्यही अनुरूप तयारी गर्न सबै नेता कार्यकर्तालाई उनको निर्देशन थियो ।

    पाँच दलीय गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति घोषणा भएसँगै ४० भन्दा बढी कार्यक्रममा सहभागी भइसके । पार्टीले आयोजना गरेको भन्दा सरकारी कार्यक्रममा गएर उनले पनि चुनावी तालमेल गरेरै अघि बढ्ने दाबी गरे । कांग्रेस एक्लै चुनाव लड्दा विगतमा कस्तो अवस्था भोगेको स्मरण गराउँदै तालमेलबाहेक चुनाव जान नसकिने उनको तर्क थियो ।

    पाँच दलीय गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा नेता कार्यकर्ता यतिबेला चुनावी दौडाहमा छन् । उनीहरूले आफ्ना उम्मेदवारलाई भोट हाल्न अपिल गर्नुका साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भोट नदिन भन्न समेत भ्याउँछन् ।

    यतिमात्र नभएर कुनै कुनै कार्यक्रममा गएर माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरूमाथि गठबन्धनभित्रबाट अपमान भइरहेको समेत बताए । अपमान भइरहे सहन नसकिने भन्दै गठबन्धनबाट बाहिरिने समेत उनीहरूको चेतावनी थियो ।

    पाँच दलका शीर्ष नेतादेखि तल्लो स्तरका नेताहरूसम्म चुनावी दौडाहमा छन् । तर, पाँच दलले भने अहिलेसम्म संयुक्त चुनावी सभासमेत आयोजना गर्न सकिरहेका छैनन् । पाँच दलले यहि २९ चैतमा संयुक्त अपिल जारी गरेका थिए । जसमा उनीहरूले एक अर्कालाई सहयोग गर्नेदेखि लिएर एकअर्काको विरुद्ध नलाग्ने सम्मको प्रतिबद्धता जनाएका थिए ।

    यहि ११ र १२ गते वैशाखमा उम्मेद्‌वार मनोनयन दर्ताको समय तोकिएको छ । मनोनयन दर्ता गर्ने समय नजिकिँदै गर्दा पनि दलहरूले एउटा पनि संयुक्त चुनावी सभा आयोजना गर्न नसकेका हुन् । गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँटबारे निर्णय गर्न सकिरहेका छैनन् ।

    गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेका उनीहरूको गतिविधि हेर्दा एक्ला एक्लै लड्ने जस्तो देखिन्छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले विविध कारणले संयुक्त चुनावी अभियान गर्न नसकिएको बताए । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले तालमेलको व्यवहारिक निर्णय गर्न बाँकी रहेकोले संयुक्त चुनावी सभा गर्न नसकिएको जानकारी दिए ।

    स्थानीय तहको सिटको बाँडफाँटबारे निर्णय भएपछि संयुक्त चुनावी सभा गरिने उनको भनाइ छ । गठबन्धनमा आबद्ध दलहरूलाई अझै पनि तालमेलसहित चुनाव लड्नेमा विश्वास छैनन् । एक अर्काप्रति विश्वास नहुँदा उनीहरू एक्ला एक्लै चुनावी सभाहरू गर्दै आएका छन् ।

    नेपाली कांग्रेसले धेरै स्थानहरूमा तालमेल नगर्ने निर्णय गर्दै आफ्नै उम्मेद्‌वार घोषणा गरिरहेको छ । पालिका, जिल्ला र प्रदेशस्तरमा निर्णय गर्दै चुनावी तालमेलको विपक्षमा निर्णय गर्न थालेका हुन् । गठबन्धन तोड्दै उनीहरू स्वच्छ प्रतिपस्पर्धामा जाने निर्णयमा पुग्न थालेका हुन् । चुनावी तालमेलको निर्णयको अवज्ञा हुँदा हुन थालेपछि गठबन्धनका शीर्ष नेताहरूले अर्को उपाय पनि अघि सारेका छन् ।

    त्यो सबै दलसँगको सहमति नभएपनि जो जसको जोसँग सहमति हुन्छ त्यही अनुसार तालमेल गर्ने । यसका लागि गठबन्धनको बैठकमा प्रस्तावकै रूपमा आएको छ ।

    नेताहरूले त्यसलाई सबैको सहमति नजुटेको खण्डमा विकल्पको रूपमा हेरेका छन् । सबै दलहरूबीच भागबण्डा र तालमेलको विषयमा सहमति जुटेपछि मात्रै संयुक्त चुनावी सभा गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # किन हुन सकेन् गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology