प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएका छन् ।
चितवन कांग्रेस सभापति राजेश्वर खनाललाई आज बालुवाटार बोलाएर देउवाले सत्तागठबन्धनलाई निरन्तरता दिनुपरेकोले भरतपुरको मेयर कांग्रेसले लिन नसक्ने अवस्था आएको बताए ।
भरतपुर महानगरमा सत्तागठबन्धनले गर्ने निर्णयलाई सहयोग गर्न पनि देउवाले उनलाई आग्रह गरेका थिए । ०७४ मा पनि भरतपुरको मेयर कांग्रेसले माओवादीलाई छाडेको थियो।
कांग्रेसको समर्थनमा माओवादी नेता रेनु दाहाल भरतपुरको मेयर भएकी थिइन् । बालुवाटारमा आज भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, बागमती कांग्रेस सभापति इन्दबहादुर बानियाँ र चितवन सभापति खनाल थिए ।