स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका ४ मा लक्ष्मी बुढाथोकी रोका मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।
वडा कमिटीको बैठकले बुढाथोकीलाई सर्वसम्मत रुममा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले वडा सदस्यहरुको पनि टुङ्गो लगाएको छ ।
खुल्ला वडा सदस्यमा नर बहादुर चोचाङ्गे पुन, देउ बहादुर फगामी, भुवानी रोका थापा र दलित महिला सदस्यमा दिलमाया बिश्वकर्मालाई उम्मेदवार चयन गरिएको छ ।
अध्यक्षका उम्मेदवार बुढाथोकी पार्टीको वडा कमिटी उपाध्यक्ष तथा अखिल नेपाल महिला संघका जिल्ला सदस्य हुनुहृ्न्छ । कक्षा १२ उतिर्ण गर्नुभएकी बुढाथोकी शिक्षित, बैचारिक र क्षमतावान महिला हुनु।
बिशेषगरि महिला शसक्तिकरण तथा सामाजिक र सांस्कृतिक परिवर्तनका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर वडाको विकासमा अग्रसर हुने उहाँको योजना रहेको छ । १ मतदान स्थल र २ मतदान केन्द्र रहेको मंगला ४ मा १ हजार ३ सय ९८ मतदाता रहेका छन ।
एमाले म्याग्दीद्वारा ४३ वडामा अध्यक्षका उम्मेदवार छनौट
वैशाख ३० गते हुन लागेकाे स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हालसम्म ४३ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु चयन गरेको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये धवलागिरि गाउँपालिकाको १ नम्बर वडा गूर्जा र ७ नम्बर वडा ताकमबाहेक अन्य सबै पालिकामा रहेका वडाहरुमा वडा अध्यक्षका लागि उम्मेदवाहरु चयन गरिसकेको नेकपा एमाले म्याग्दीले जनाएको छ ।
एमाले म्याग्दीले बेनी नगरपालिकाको रत्नेचौरमा टेकबहादुर थापा, ज्यामरुककोटमा डम्बरबहादुर सापकोटा, भकिम्लीमा गेमबहादुर घर्तीमगर, सिङ्गामा देवेन्द्रबहादुर बानियाँ, पुलाचौरमा गोविन्द बानियाँ, अर्थुङ्गेमा कृष्णसिङ बानियाँ, बेनपा–७, बेनीमा राजेन्द्रकुमार श्रेष्ठ र बेनपा–८, बेनीमा उत्तमकुमार कर्माचार्य, घतानमा मनबहादुर खड्का र पात्लेखेतमा मसबिर रोकालाई वडाध्यक्षको उम्मेदवार टुङ्ग्याएको छ ।
यसैगरी अन्नपूर्ण गाउँपालिकाको दोवामा दिलिपकुमार पूर्जा, भूरुङ–तातोपानीमा श्याम राना, दानामा रमेश पुन, नारच्याङमा तेजबहादुर गुरुङ, शिखमा बिसन राना, घारमा भक्तबहादुर खड्का, हिस्तानमा मैलन पूर्जा पुन र राम्चेमा खमबहादुर गर्बुजा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत चयन भएको एमाले म्याग्दीका सचिव सुुरत केसीले जानकारी दिनुभयो ।
त्यस्तै रघुगंगा गाउँपालिकाको बेगखोलामा यामबहादुुर गर्बुजा, राखुभगवतीमा अमृत भण्डारी, राखुपिप्लेमा खिमबहादुर शाही, दग्नाममा ईन्द्रबहादुर थजाली, झीँमा तेजु शेरपुञ्जा, पाखापानीमा समशेर पाईजा, चिमखोलामा रिम पुन र कुईनेमङ्गलेमा तेजिन फगामीलाई उम्मेदवार बनाइएको एमाले म्याग्दीका सचिव केसीले बताउनुभयो ।
त्यसैगरी मंगला गाउँपालिकाको कुहुँमा एकजित रोका, बाबियाचौरमा पुनः धनबहादुर खाती, मंगला–३, बराङ्जामा पनि पुनः कविन्द्र रोका, मंगला–४, बराङ्जामा लक्ष्मी बुढाथोकी र अर्मनमा भने भूपेन्द्रबहादुर केसीलाई पनि पुनः वडाध्यक्षको उम्मेदवार बनाइएको छ । एमालेले वडाध्यक्ष पदका लागि उम्मेदवार चयन गरेकामध्ये मंगला–४, बराङ्जाको वडाध्यक्षमा उम्मेदवार बनेकी बुढाथोकी भने एमालेबाट जिल्लामै एक्ली महिला उम्मेदवार हुनुहुन्छ ।
मालिका गाउँपालिकामा एमालेबाट निस्कोटको वडाध्यक्षमा बुद्धिबहादुर पुन, मालिका–२, रुममा उदयकुमार बुढाथोकी, मालिका–३, रुम डाँडागाउँमा मनबहादुर बुढा, ओखरबोटमा गोपाल कँडेल, देवीस्थानमा कुलबहादुर घर्ती, दरबाङमा पथबहादुर रोका र विममा टकबहादुर पुन वडाध्यक्ष पदको सर्वसम्मत उम्मेदवार बनेका छन् । यस्तै धवलागिरि गाउँपालिकाको लुलाङमा अकबहादुर विक, मुनामा मदन मल्ल, मुदीमा यामबहादुर घर्ती, मल्कबाङमा तिलकबहादुर छन्त्याल र मराङमा पुनः राजाराम उपाध्यायलाई नै वडाध्यक्षको उम्मेदवार बनाइएको एमाले जिल्ला सचिव केसीको भनाइ छ । उहाँका अनुसार धवलागिरि गाउँपालिकाको गूर्जा र ताकमको वडाध्यक्षका उम्मेदवारको पनि केही दिनभित्रै टुङ्गो लाग्नेछ ।
यसैबीच छ वटा स्थानीय तह रहेको म्याग्दीमा एमालेले हालसम्म चारवटा गाउँपालिकाको अध्यक्ष र दुईवटा गाउँपालिकाको उपाध्यक्ष पनि टुङ्ग्याएको छ । जसमध्ये अन्नपूर्णमा भरत पुन र दिवाकुमारी तिलिजा पुन, रघुगंगामा प्रेमबहादुर कार्की र यामकुमारी गर्बुजा तथा मंगलाको अध्यक्षमा पुनः सतप्रसाद रोका र मालिकामा बेगप्रसाद गर्बुजा अध्यक्षमा उठ्ने हुनुभएको छ । यस्तै बेनी नगरपालिकाको प्रमुख र उपप्रमुख, धवलागिरिको अध्यक्ष र उपाध्यक्ष, मालिका र मंगलाको उपाध्यक्षको उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको एमालेले जनाएको छ ।