३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा आकांक्षी जनप्रतिनिधिले राजीनामा दिएका छन् । स्थानीय तहको मननोयन दर्ता गर्ने दिन नजिकिँदै गएपछि उनीहरुले राजीनामा दिएको बताएका छन ।
गुठीचौर गाउँपालिकाका–१ वडाध्यक्ष गणेश ऐडीले पदबाट राजीनामा दिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष ऐडी अहिले नेकपा (समाजवादी पार्टी)मा आवद्ध छन् ।
उनी पुनः वडाध्यक्षमै प्रतिस्पर्धा गर्न पदबाट राजीनामा दिएका छन् । यस्तै, गुठीचौरकै कार्यपालिका सदस्य जनक थकाली, वडासदस्य प्रेम लामा र पदमराज गिरीले पनि राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए । कार्यपालिका सदस्यबाट राजीनामा दिएका थकाली नेकपा समाजबादी पार्टीबाट गुठीचौर गाउँपालिका अध्यक्ष पदमा लड्ने भएका छन् ।
गाउँपालिका अध्यक्षका लागि वडा कमिटीबाट निर्णय भएर आएको र पार्टीले निर्णय गर्न बाँकी रहेको पार्टी अध्यक्ष तिर्थ बुढाले बताए । त्यस्तै, पातारासी गाउँपालिका–२ का वडाध्यक्ष कन्न बोहराले पनि पदबाट राजीनामा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले बताए ।
पुनः वडाध्यक्ष पदमै लड्नका लागि राजीनामा दिएको बोहराले बताए । उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित भएका हुन । सिंजा गाउँपालिका–१ का वडाध्यक्ष रणबहादुर रोकायाले पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।
त्यसैगरी, ४ नम्बर वडाध्यक्ष धनबहादुर बुढा र वडासदस्य जक्तीराम बुढाले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष रोकाया नेमकिपा र बुढा एमालेबाट निर्वाचित भएका हुन् ।
वडाध्यक्षबाट राजीनामा दिएका रोकायाले गाउँपालिका अध्यक्षमा लड्ने पार्टीमा दाबी गरेको बताए । त्यस्तै, तातोपानी गाउँपालिका–३ का वडाध्यक्ष डिल्ली रावल र गाउँकार्यपालिका सदस्य आदिप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।
चन्दननाथ नगरपालिका–६ का वडाध्यक्ष अजबहादुर रावल, कार्यपालिका सदस्य चन्द्रवति उपाध्याय, वडासदस्य भीमबहादुर रावत र बलबहादुर शाहीले पदबाट राजीनामा दिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।