निर्वाचन आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ ।
आयोगले सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५८५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ ।
आयोगका अनुसार हालसम्म प्रमुख पदमा १३९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १३२६ जनाले दर्ता गराएका छन् । यसैगरी उपप्रमुख पदमा ७८४ तथा उपाध्यक्ष पदमा ८२२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी वडाध्यक्ष पदमा ९ हजार ७९७ जना, महिला सदस्य पदमा ५८४९, महिला दलित सदस्य पदमा ५०९५ र सदस्य पदमा १२ हजार ५१७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अपडेट
यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विभिन्न पदमा हालसम्म २३ हजार ५१७ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न पदमा उक्त उम्मेदवारी परेको हो ।
आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय दिएको थियो । मनोनयन सोमबार बेलुकी पाँच बजेसम्म गर्न पाइने छ ।
आयोगका अनुसार हालसम्म प्रमुख पदमा १ हजार ३१, अध्यक्ष पदमा ८७१, उपप्रमुख पदमा ५३०, उपाध्यक्ष पदमा ४९६, वडा अध्यक्ष पदमा ६ हजार ३२२, महिला सदस्य पदमा ३ हजार ५७५, दलित महिला सदस्य पदमा ३ हजार ६ र सदस्य पदमा ७ हजार ६८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।