चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् ।
गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराएका हुन् ।
मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने‘लब्ली’ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने‘लब्ली’ रहेका छन् ।
भरतपुरमा माओवादीलाई मेयर र कांग्रेसले उपमेयर पाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पुत्री रेणु भरतपुर महानगरकी पूर्वमेयर पनि हुन् ।
२०७४ लाई फर्केर हेर्दा : भरतपुरमा माओवादी र एमालेका उम्मेदवारबीच मात्र २०३ मतको भिन्नता
२०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा कुल मतदाता संख्या १ लाख ५० हजार २७४ रहेको थियो । निर्वाचनमा १ लाख १२ हजार ८९७ मत खसेको थियो । खसेकोमध्ये १ लाख ११ हजार ४७३ मत सदर भएको थियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा नेकपमा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले तालमेल गरेका थिए । निर्वाचनमा मेयर पदमा माओवादीको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहाल विजयी बनेकी थिइन् ।
निर्वाचनमा दाहालले ४३ हजार १२७ मत ल्याइ विजयी बनेकी थिइन् । उनले नेकपा (एमाले)को तर्फबाट मेयरका उम्मेदवार देवीप्रसाद ज्ञवालीको भन्दा मात्र २०३ मत बढी ल्याएर विजयी बनेकी थिइन् । ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए ।
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत पाएका थिए ।
२०७४ सालमा भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार पार्वती शाह ठकुरी विजयी बनेकी थिइन् । उनले ४७ हजार १९७ मत प्राप्त गरेकी थिइन् ।
उपमेयर पदमा नेकपा (एमाले)की उम्मेदवार दिव्य शर्माले ३९ हजार ५२५ मत प्राप्त गरेकी थिइन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन् ।