वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाका विभिन्न ५ स्थानीय तहमा उमेदवारी दिएको छ ।
जिल्लाका गंगादेव, परिवर्तन, थवाङ, सुनिलस्मृती र सुनछहरी गाउँपालिकामा उमेदवारी दिएको हो । उसले कुनै स्थानीय तहमा एकल त कुनै स्थानीय तहमा कांग्रेस र एमालेको सहयोगमा तथा कुनै स्थानीय तहमा स्वतन्त्र व्यक्तिलाई समर्थन गरेर उमेदवारी दर्ता गरेको हो ।
रोल्पाको गंगादेव गाउँपालिकामा पार्टीका केन्द्रीय सदस्य चुडामणि वलीले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका छन् । वलीको समूहबाट उपाध्यक्ष तथा २,३,४,५ र ६ नम्वर वडाध्यक्षमा समेत उमेदवारी परेको छ ।
यस्तै गाउँपालिका उपाध्यक्षमा सुशिला वलीको उमेदवारी परेको छ । यसैगरी वडाध्यक्षहरुमा वडा नं. २ बाट टिकाराम नेपाली, वडा नं. ३ बाट लालवहादुर वली, वडा नं. ४ बाट नन्दे वली, वडा नं. ५ बाट यमन मल्ल र वडा नं ६ बाट दीपेन्द्र खत्रीको उमेदवारी परेको छ ।