मस्को। रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले रुबलमा भुक्तानी गर्न अस्वीकार गरे अरू युरोपेली मुलुकको तेल आपूर्ति पनि कटौती गरिने चेतावनी दिएका छन्।
यसअघि रुसी सरकारी ग्यास कम्पनी ग्याजप्रोमले पोल्याण्ड र बुल्गेरियालाई दिइरहेको ग्यास आपूर्ति रोकिसकेको छ। युरोपेली नेताहरूले रुसी कदमलाई ‘ब्ल्याकमेल’ भन्दै आलोचना गरेका छन्।
रुसी ग्यास कम्पनी ग्याजप्रोमले एक विज्ञप्ति जारी गर्दै पोल्याण्ड र बुल्गेरियाले रुसी मुद्रा रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि तिनलाई दिइरहेको ग्यास कटौती गरेको बताएको छ।
गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुबलमा भुक्तानी नगर्ने ‘अमैत्रीपूर्ण विदेशी खरिदकर्ता’लाई तेल विक्री नगर्नेसम्बन्धी अध्यादेश जारी गरेका थिए। ग्याजप्रोमले आफूले यो महिनाको सुरुदेखि नै रुबलबाहेक अन्य मुद्रामा भुक्तानी लिन छाडेको बताएका छन्।
रिपोर्टरसँगको कुराकानीमा पेश्कोभले भने, ‘रुस उसका उपभोक्ताको लागि हिजो पनि उर्जाको विश्वसनीय स्रोत थियो र भोलि पनि रहनेछ। हामी पूर्व सम्झौता अनुरूप तेल आपूर्ति गर्न पनि कटिबद्ध छौँ। तर भुक्तानीको अन्तिम मिति नजिकिदै गर्दा यदि कुनै उपभोक्ताले नयाँ प्रणाली अनुरूप भुक्तानी गरेनन् भने ती मुलुकहरूमाथि राष्ट्रपतीय अध्यादेश लागु हुनेछ।’
पत्रकारहरूले युरोपमा ग्यास विक्री घट्दा उत्पन्न हुने बजेट घाटाको लागि रुस तयार छ भनेर सोधेको प्रश्नको उत्तर दिने क्रममा पेश्कोभले जवाफ दिदै भने ,‘ सबै कुराको हिसाब गरिएको छ, सम्पूर्ण जोखिमहरू पहिले नै पूर्वानुमान गरिएका छन् । त्यससम्बन्धीमा आवश्यक कदम उठाइसकिएको छ। ’