Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मङ्गलाघाटदेखि हाडेभिर तीन वर्षपछि सडक कालोपत्र

मङ्गलाघाटदेखि हाडेभिर तीन वर्षपछि सडक कालोपत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०७९ शुक्रवार • १०:२१:०४ बजे
  • 601
    SHARES
  • मङ्गलाघाटदेखि हाडेभिर तीन वर्षपछि सडक कालोपत्र

    म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका-७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो ।

    images

    मङ्गलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरेको निर्माण कम्पनीले हाँडेभिरदेखि बगरफाँटतर्फ जोड्ने सडक कालोपत्र गर्न बेस र सब बेस राखेको छ । सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको उक्त योजना देव एण्ड सायर-बिएन-त्रिशक्ति जेभीले रु पाँच करोडमा ठेक्का लिएको थियो ।

    दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७५ माघमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७७ माघमा काम सकिनुपर्ने थियो । मङ्गलाघाटको तल्लो बजार क्षेत्रमा करिब २०० मिटर सडक ढलान २०७५ साउनमै गरिएको थियो ।

    निर्माण कम्पनीका प्रतिनिधि रोहन श्रेष्ठले मङ्गलाघाटमा कालोपत्र गरिसकेको र केही दिनमा हाँडेभिरदेखि बगरफाँटतर्फको सडक पनि कालोपत्र गरिने बताए । सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको आयोजनामा व्यवसायीको लापरबाही र ढिलासुस्ती रहेको मङ्गलाघाटवासी सुवासकुमार श्रेष्ठले बताउनुभयो ।

    सडक कालोपत्र नहुँदा मङ्गलाघाटका बासिन्दालाई हिलो र धुलोले सास्ती भएको थियो । कालोपत्रसँगै हिलो र धुलोको समस्या हटेको छ । साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवतजावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको भन्दै मङ्गलाघाटका बासिन्दाले गत वर्ष आन्दोलन नै गरेका थिए ।

    हाडेभिर-बगरफाँट भकिम्ली, सिंगा र बरङ्जालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले कोरोना महामारी र निषेधाज्ञाका कारण पटकपटक प्रयास गर्दा पनि काम गर्न नपाउँदा ढिलाइ भएको बताए ।

    उनले सडक निर्माण र कालोपत्र गरे पनि सम्बद्ध कार्यालयले बजेट विनियोजन नगरेको हुँदा समस्या भएको बताए । अक्सपाल्ट प्रविधिको कालोपत्रेका लागि गर्मी मौसम आवश्यक पर्छ ।

    चिसोमा काम गर्न गाह्रो हुन्छ । यसअघिको दुई वर्षको गर्मीयाममा कालोपत्रको तयारी गर्दा कोरोना महामारी फैलिएपछि रोकिएको थियो । हाँडेभिरदेखि बगरफाँटसम्म नाली बनाउने, सडक फराकिलो र पर्खाल लगाउने काम ससम्पन्न भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology