Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

म्याग्दीको गाउँ गाउँमा निर्वाचनको चहलपहल बढ्यो,पर्यटन र स्थानीय रुपमा उद्योग संचालन सम्म

म्याग्दीको गाउँ गाउँमा निर्वाचनको चहलपहल बढ्यो,पर्यटन र स्थानीय रुपमा उद्योग संचालन सम्म

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७९ सोमवार • ०९:१२:०५ बजे
  • 589
    SHARES
  • म्याग्दीको गाउँ गाउँमा निर्वाचनको चहलपहल बढ्यो,पर्यटन र स्थानीय रुपमा उद्योग संचालन सम्म

    म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार तीव्र बनाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मंगोल अर्गनाइजेशनलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन् ।

    images


    दलका झण्डा र चुनाव चिह्न राखिएको गाडीमा स्पिकर जोडेर चुनावी गीत घन्काउँदै गाउँ टोलमा भोट माग्न आउने उम्मेदवारको लर्को लागेको धौलागिरि गाउँपालिका–७ ताकमका सुनिल भण्डारीले बताए । “फरक–फरक दलको वडा र पालिकाका उम्मेदवार घरदैलोमा हिँड्नुभएको छ”, उनले भने, “उम्मेदवार र नेताको चहलपहलले चुनावी माहोल बढाएको छ ।” उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन् । धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन् ।

    दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले साँझ र बिहानको समयमा घरदैलो गरेका छन् । नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैलो, सभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन् ।

    छवटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्षसहित पाँचै जना जनप्रतिनिधि निर्विरोध भएका छन् । सबैजसो टोलमा कुनै न कुनै दलका उम्मेदवार भएकाले चुनावले चहलपहल बढाएको बेनपा–९ का केशव चोखालले बताए ।

    घरदैलोका क्रममा उम्मेदवारले आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन् । उनीहरुले मतदाताका समस्या, सुझाव, गुनासा सुन्ने र प्रतिबद्धता जनाएका छन् । सडक स्तरोन्नति गर्ने, खानेपानीको सुविधा विस्तार गर्ने, शिक्षा र स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउने, विकास योजनालाई पारदर्शी तथा जनसहभागितामूलक बनाउने उम्मेदवारको कार्यसूची छ ।

    माओवादीबाट मालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवार रेशम जुग्जालीले गाउँका सडकमा बजारबाट सामान मात्र लैजाने नभएर गाउँका उत्पादन बोकेर बजार पुर्याउने र गाउँमा पैसा भित्र्याएर पुगेको सुविधा उपयोगका लागि सक्षम बनाउने मुद्दालाई जोड दिएको बताए ।

    मालिका–६ दरवाङका खेमबहादुर पुनले गत चुनावमा जनप्रतिनिधिले खानेपानी ल्याउने वाचा अझै पूरा नगरेका गुनासो गरे । “पाँच वर्षअघिकै खानेपानीको मुद्दालाई अहिले पनि दोहोर्याएर भोट माग्न आएका छन्”, उनले भने, “योजना बनाएर सपना देखाउने मात्र नभएर कार्यान्वयन गर्ने नेतृत्वको आवश्यकता देखिएको छ ।”

    माओवादी केन्द्रको मंगलागाउँपालि अध्यक्षका उमेदवार टेक बहादुर विश्वकर्माले पालिका विकासको कार्यसूची बनाएका छन । युवा र लामो समय राजनीतिमा आवद्ध रहेका विश्वकर्माले  हरेक वडामा स्थानीय रुपमा उद्योग संचालन गर्ने, हरेक स्कुललाई इङलिस मिडियममा लैजाने र बसाइ सराई रोक्ने योजना बनाएका छ ।"

    मंगलागाउँपालिकामा पहिला एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनताको अति आवश्यक समस्याहरु समाधान गर्न पहल नगरेको भन्दै स्थानीयले गुनासो गरे । अहिले पनि फेरि पुरानो अनुहार नै आएका छ्न यो पटक बिचार गर्छौ एक स्थानीयले भने । नयाँ र युवा प्रतिनिधिलाई पनि एक पटक पालिका विकास गर्न सहयोग गर्नु पर्छ भने ! अहिले गाउँमा सबै राजनितीक दलहरुले प्रचारप्रसार तिव्र पारेका छन ।

    पर्यटन र पूर्वाधार अन्नपूर्णका उम्मेदवारको कार्यसूची


    अन्नपूर्ण गाउँपालिकामा आसन्न निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले पर्यटन र पूर्वाधार विकासमा प्राथमिकता दिने कार्यसूची बनाएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका बलबहादुर तिलिजा पुन, एमालेका भारतकुमार पुन, राप्रपाका तीर्थबहादुर खड्का र नेशनल मंगोल अर्गनाइजेशनका रामबहादुर गर्बुजा उम्मेदवार बनेका छन् ।

    उपाध्यक्षमा एमालेका दिवाकुमारी पुन, कांग्रेसका ललिता तिलिजा पुन र नेशनल मंगोल अर्गनाइजेशनका एलिना पुर्जा शेरपुञ्जा प्रतिस्पर्धामा छन् । पर्यटन, जलविद्युत् र कृषि क्षेत्रमा सम्भावना रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले सडक, भवन, खानेपानीलगायत पूर्वाधारका साथै शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार एवं आयआर्जन वृद्धिका योजनालाई प्राथमिकता दिने योजना अघि सारेका छन् ।

    घोडेपानी, पुनहिल, मोहरेडाडा, खोपारा, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्डलगायत पर्यटकीयस्थल रहेको अन्नपूर्णका उम्मेदवारले नयाँ गन्तव्यको पहिचान गरी पर्यटक भित्र्याउने, बसाई लम्बाउने र आयआर्जन सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

    आसन्न निर्वाचनमा अन्नपूर्णमा एमाले र कांग्रेसका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आठ वडा रहेको अन्नपूर्णको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सचिवमा ४२ पदका लागि ९८ जनाको उम्मेदवारी परेको छ । १४ मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपूर्ण गाउँपालिकामा १२ हजार २६ मतदाता छन् । विसं २०७४ मा भएको स्थानीय तह चुनावमा कांग्रेसले अन्नपूर्णको अध्यक्ष, उपाध्यक्ष र चार वटा वडामा विजय हासिल गरेको थियो । एमालेले तीन र माओवादीले एक वडा जितेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology